नख्खु बिस्फोटमा सूर्य भूजेल जेल चलान, सेनाको जागिर छोडेर माओवादीमा

१७ बैशाख २०७६, मंगलवार ०२:१३ प्रकाशित

नख्खुमा गराइएको बम बिस्फोटका मुख्य अभियुक्त सूर्य भूजेल कारागार चलान भएका छन्। आइतबार जिल्ला अदालत ललितपुरको आदेशले ३८ वर्षीय भूजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
ललितपुर परिसरका अनुसार उनलाई आइतबार नै नख्खु कारागार चलान गरिएको छ। कर्तव्य ज्यान, बम बिस्फोट हातहतियार तथा खरखजना र राज्यविरुद्धको अपराधमा भूजेल कारागार चलान भएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकले बताए।
भूजेल केही सार्वजनिक अपराध मुद्दामा शुक्रबार जिल्ला अदालत काठमाडौंबाट छुटेका थिए। छुटेलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
तीन वटै मुद्दा चलिरहेका बेला भूजेललाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा वैशाख ६ गते रिहा गर्न आदेश दिएको थियो। रिहा भएलगत्तै पक्राउ गरी काठमाडौं परिसरले सार्वजनिक मुद्दा चलाएको थियो।
मुद्दा बुझाउने अन्तिम तयारी भइरहेका बेला भूजेललाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो।
नख्खु बिस्फोटमा संलग्न रहेको आरोपमा भूजेललाई फागुन १५ गते कलंकीबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। फागुन १० गते एनसेलको नख्खुस्थित मुख्य कार्यालय अगाडि बम बिस्फोट गराइएको थियो। बिस्फोटको मुख्य अभियुक्त किटान गरी प्रहरीले भूजेललाई विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको थियो।
नख्खु बिस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो। बिस्फोटपछि प्रहरीले विप्लव माओवादीका काठमाडौं जिल्ला सदस्य तथा नेत्रविक्रम चन्दका बडिगार्ड नुवाकोट साबिक तारुका गाविस २ का ३८ वर्षीय भूजेललाई पक्राउ गरी मुद्दा चलाएको थियो।
सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहमा आबद्ध देशभरिका ६ सय बढी नेता कार्यकर्तालाई पक्राउ गरी विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको छ।
नुवाकोट जिल्ला साबिक तारुका-२ का भूजेल नेपाली सेनाका भगौडा सिपाही हुन्। सेनाबाट भागेपछि उनी माओवादीमा प्रवेश गरेका थिए।
अपराध महाशाखाका अनुसार भूजेल २०५४ साल असोज १० गते तत्कालीन शाही नेपाली सेनामा भर्ना भएका थिए। सेनामा सात वर्ष जागिर खाएपछी २०६१ साउन १ गते सेवा छोडेर भागेका थिए।
सेना छोडेर सशस्त्र युद्ध गरिरहेको तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीमा उनी प्रवेश गरेका थिए। त्यसबेला उनी नुवाकोट जिल्ला युवा परिचालन प्रमुख थिए।
शान्ति प्रक्रियामा आएपछि भूजेल अर्धसैन्य दस्ता वाइसिएलको नुवाकोट जिल्ला कमिटी इञ्चार्ज भएका थिए। विप्लवले पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी छोडेर नयाँ पार्टी गठन गरेपछि भूजेल विप्लवसँगै थिए। विप्लव माओवादीले विध्वंशात्मक गतिविधि थालेपछि भूजेललाई बिस्फोटन टोलीको मध्यकमाण्ड इञ्चार्जको जिम्मेवारी दिइएको थियो।

१७ बैशाख २०७६, मंगलवार ०२:१३  मा प्रकाशित

Write your Comment