काठमाडौं :
भारतको चेन्नाइबाट नेपालका लागि उडेका चिनियाँ राष्ट्रपति शी चिनफिङ शनिवार अपराह्न ४:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने भएका छन् ।
विमानस्थलमा राष्ट्रपति शीलाई नेपाली सेनाले २१ तोपको सलामी दिने तय भएको छ । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी ५:२० सम्ममा सलामी सकेर राष्ट्रपति शी सिधै सोल्टी होटल प्रस्थान गर्नेछन् । छोटो बसाइपछि उनी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीसँग आधा घण्टाको भेटपछि शी पुन: सोल्टी होटल फर्किने छन् । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुपूर्व उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छुट्टा–छुट्टै भेटवार्ता गर्नेछन् । उनीहरू दुवैले ७ सात मिनेट समय पाएका छन् ।
त्यसपछि राष्ट्रपति शी डिनरमा सहभागी हुनेछन् । जहाँ १ सय नेपालीसहित २ सय ५० जना पाहुना सहभागी हुनेछन् ।
रात्रिभोजमा सहभागी हुनेहरूलाई साढे ७ बजेभित्र हलमा पसिसक्न भनिएको छ । रात्रिभोज राति ९ बजेसम्म चल्नेछ ।