जापानमा सुपर ताइफुः एकको ज्यान गयो, ४ वेपत्ता, ५० भन्दा बढि घाइते

२५ आश्विन २०७६, शनिबार १६:५३ प्रकाशित

एजेन्सी २५ असोज
टोकियो :

शक्तिशाली ताइफु जापान प्रवेश गरेको छ । जापानको मौषम एजेन्सीले सुपर ताइफु हागिबिस सिजुओका प्रिफेक्चरको इजु प्रायद्वीपमा करिब ७ बजे प्रवेश गरेको जनाएको हो । सो ताइफु शिजुओकाबाट अघि बढिरहेको र यसको सुरुवाती असर सिजुओका, कानागावा, टोकियो, साइतामा, गुन्मा, यामानाशी र नागानो प्रिफेक्चरमा बढि रहनेछ ।
पूर्वि, मध्य तथा उत्तरपूर्वि जापानका १० प्रिफेक्चरहरुमा हालसम्म ७ लाख भन्दा बढि व्यक्तिहरुलाई आफ्नो घर छाडेर अस्थायी आश्रयस्थलहरुमा जान सूचना जारी गरिसकिएको छ । विशेषगरि टोकियो, फुकुशिमा, गुन्मा, साइतामा, चिवा, कानागावा, यामानाशी, सिजुओका र मिए प्रिफेक्चरका ताइफुको प्रभाव धेरै पर्नसक्ने स्थानका बासिन्दाहरुलाई सो आदेश दिइएको हो ।
विहानैदेखिको बर्षाका कारण टोकियो सहित अन्य प्रिफेक्चरहरुमा रहेका खोलाहरुमा पानीको बहाव बढेको छ भने कतिपय स्थानहरुमा दशक पछि पाँचौ तहको सतर्कता सूचना जारी गरिएको छ ।
हागिबिसले तोकाई तथा कान्तो क्षेत्रमा १६२ किलोमिटर प्रतिघण्टा गति सहितको शक्तिशाली आँधी आउनसक्ने बताइएको छ ।
साँझ साढे सात बजेसम्म प्रभावित क्षेत्रका ५७ हजार घरधुरीहरुमा विद्युत प्रवाह रोकिएको छ भने विद्युत प्रवाह सुचारु गर्ने प्रयास भैरहेको टोकियो पावर कम्पनी होल्डिङ्सले जनाएको छ ।
चिबामा पल्टिएको गाडिभित्र बेहोस भेटिएका एक ब्यक्तिको ज्यान गएको छ । प्रहरीले उनको गाडि ताइफुलेनै पल्टाएका कारण उनको मृ*त्यु भएको हुनसक्ने बताएको छ । सिजुओका तथा गुन्मा प्रिफेक्चरमा यो समाचार तयार पार्दासम्म ४ जना हराइरहेका छन् भने विभिन्न १८ प्रिफेक्चरहरुमा ५० जना भन्दा बढि घाइते भएका छन् ।
ताइफुकै कारणले गर्दा शनिवार बिहानदेखि नै टोकियो महानगर क्षेत्रमा रेल सेवा र हवाई सेवा प्रदायक कम्पनीहरुले आफ्नो अधिकांश सेवा स्थगित गरेका छन् ।
ताइफुले भारी वर्षा गराउँदा मध्य जापानको प्रशान्त महासागरको तट र पूर्वी जापानमा शनिवार साँझ पहिरो जान सक्ने जापानको मौषम एजेन्सीले बताएको छ ।
ताइफुका कारण मध्य जापानको तोकाई क्षेत्र र टोकियो महानगर क्षेत्र सहित कान्तो–कोशिन क्षेत्रमा आउने ठूलो हावाहुरीले घरहरुमा क्षति पुग्न सक्ने चेतावनी एजेन्सीले दिएको छ ।
शनिबार जापानभरका धेरै शिनकानसेन ट्रेनहरु रोकिएका छन् भने स्थानीय तथा लामो दुरिमा चल्ने ट्रेनहरु पनि चलेका छैनन् । सडक यातायातहरु चलेका भएपनि सम्भावित जोखिमलाई कम गर्न विभिन्न हाइवेहरु बन्द गरिएका छन् । जापानका मुख्य विमानस्थलहरुबाट अन्यत्र जानेआउने राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि हजारौं उडानहरु रद्द गरिएका छन् ।
जापान मौषम एजेन्सीका अधिकारीहरुले सुरक्षित रहन सबैमाझ निरन्तर अनुरोध गर्दै आइरहेका छन् ।
थप तस्वीरहरु

२५ आश्विन २०७६, शनिबार १६:५३  मा प्रकाशित

Write your Comment