मकवानपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।
हेटौंडास्थित मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो ।
सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत राख्नु भएको छ । उहाँहरुले आफ्नो मान्यताहरु दर्ता गर्नुभएको र उहाँहरुको भावनाको पार्टीले व्यवस्थापन गर्ने प्रदेश नम्बर तीनका प्रमुख सचेतक रामेश्वर फूँयालले जानकारी दिनुभयो ।
नेपाल कम्यूनिष्ट पार्टी प्रदेश नम्बर तीनको संसदीय दलको बैठक पुस १८ गतेबाट हेटौंडामा शुरु भएको हो ।
अब प्रदेशसभामा राजधानी र नाममा सवालमा मतदान भएपछि नाम र राजधानी टुंगो लाग्नेछ । प्रदेश सभामा नेकपा एक्कैको ८० जना सांसद संख्या रहेका कारण हेटौंडा प्रदेशको स्थायी राजधानी र नाउँ बागमती हुने पक्का भएको छ ।