बारा ६ फागुन
सरकारी कागज, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा हडप्न खोज्ने क्रममा बारा प्रहरीले सर्वोच्च अदालतका निबर्तमान सुब्बा सहित सात जनालाई पक्राउ गरेको छ ।
अनुसन्धानको प्रक्रियामा रहेको बारा जितपुर सिमरा वडा नम्बर २३ को साविक गाबिस रामपुर टोकनी २ मा रहेको साबिक कित्ता नम्बर ६१ को एक बिगहा १० कठ्ठा सार्वजनिक जग्गा काठमाण्डौ निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको अभियोगमा प्रहरीले सर्वाेच्च अदालतका निबर्तमान नायब सुब्बा हस्तबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
सोही कार्यमा संलग्न बारा महागढिमाई नगरपालिका वडा नं ८ का वोहाव अन्सारी, बारा कलैयाका प्रह्लाद प्रसाद रेग्मि र कैलाली जिल्ला गोदावरी नगरपालिकाका चन्द्र बहादुर सिंहलाई समेत प्रहरीले पक्राउ गरेको हो । चारै जनाको मिलेमतामो सर्वोच्च अदालतको कागज किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रहरीको भनाई छ ।
पथलैया–विरगञ्ज औधोगिक करिडोरको मुल सडकसँग जोडिएको बाराको करोडौ मुल्य पर्ने सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउन दुषित कार्य गर्दैआएको प्रद्युम्नराज पाण्डेले सर्वोच्च अदालतकै कर्मचारीलाई समेत प्रभावमा पारी २० बिगहा बहुमुल्य जग्गा आफ्नो नाममा दर्ता नै गराईसकेका छन् ।
साथै सरकारी कागज र छाप किर्ते गरी जितपुर सिमरा वडा नम्बर २ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेका जग्गा बेचबिखन गरेको अर्को मुद्दामा प्रहरीले पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं १८ का बलराम रौनियार, पर्सा बहुदरमाई नगरपालिका २ बस्ने सलिम मियाँ र सोही ठेगाना बस्ने अर्का सुनिल कुमार यादवलाई समेत पक्राउ गरेको हो ।पप
पक्राउ परेका सर्वोच्चका निवर्तमान सुब्बा सहितका सातै जनालाइ प्रहरीले म्याद थप गरी सरकारी काजग किर्ते मुद्दामा कार्यवाही चलाएको छ । ईलाका प्रहरी कार्यालय बारा सिमराले आज (मंगलवार) पत्रकार सम्मेलन गरी सरकारी कागजपत्र किर्ते गर्ने सर्वोच्चका निर्वतमान कर्मचारी नेपाली सहित ७ जनालाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनी,इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्र लगायतको सहभागिता थियो ।