कार्यवाहक प्रधानमन्त्री पोखरेलसँग स्थानीयले भने प्रदूषणका कारण सिमरामा बस्न नसक्ने अवस्था भयो ।
२२ फाल्गुन २०७६, बिहीबार १७:४३ प्रकाशित
बारा २२ फागुन
नेपाल सरकारका कार्यबाहक प्रधानमन्त्री एवं उप-प्रधानमन्त्री ईश्वर पोखरेलसँग बाराको सिमरा एयरपोर्टमा स्थानीयले भेटगरी जितपुर सिमरामा प्रदूषणका कारण बस्न नसक्ने अवस्था आएको गुनासो गरेका छन । निजगढको कार्यक्रममा सहभागी भएर राजधानी फर्कने क्रममा सिमरा विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीसँग भेट गरी नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल सहित स्थानीयको टोलीले गुनासो गरेका हुन । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा रहेको जगदम्बा स्टिलको कवाढ गलाउने भट्टी बाट निस्केको अत्यधिक प्रदूषणका कारण स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेको,नयाँ स्थापना गर्दै लगिरहेको उद्योगबाट झनै बस्नै नसक्ने अवस्था सिर्जना भएको र तत्कालै स्थापना गर्न लागेको ग्यास र एसिड प्लान्ट बाट बस्तीमा नै गम्भीर आघात पुग्ने भएकोले सिमरा बासीको स्वास्थ्य बचाइदिन आग्रह गरेका थिए । सिमराका अधिकांशमा श्वासप्रश्वासको समस्या छ,कतिपयमा छालाको रोग देखिएको छ । कतिलाई क्यान्सर देखिएकोछ । यस्तो अवस्थामा सरकारले ध्यान दिनुपर्यो पौडेलले भन्नुभयो । जवाफमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील भएको स्पष्ट पार्दै आफ्नो अगाडि रहेका जितपुर सिमराका नगरप्रमुख कृष्ण पौडेललाई यस विषयमा तपाइको के पहल रह्यो भनेर सोध्नुभएको थियो जवाफमा नगरप्रमुख पौडेलले आफूले उद्योगलाई दुई तीनपटक पत्र काटेको तर उद्योगले अटेरी गरेको जानकारी गराउनुभएको थियो । कार्यवाहक प्रधानमन्त्री पोखरेलले प्रमुख पौडेललाई कानूनी रुपमा अगाडि बढ्न आग्रह गर्दै आवश्यक परे उद्योग मन्त्रीसँग समेत कुरा गर्ने बताउनु भयो । सो अवसरमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल नेकपाका केन्द्रीय सदस्यहरु अच्युत मैनाली दिनेश राइ,प्रदेश सभाका सदस्यहरु सुन्दर बिक,सिता गुरुङ, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । जगदम्बाले स्थानीयको बिरोधका बावजुद जस्ता प्लान्ट स्थापना गर्नुका साथै अहिले पुन ग्याँस र एसिड प्लान्ट स्थापना गर्न लागिरहेको छ । सो को स्थानीयले विरोध गर्दै आइरहेका छन् भने ग्याँस र एसिड प्लान्ट जडानको काम स्थानीयले चार दिनदेखि ठप्प पारेका छन् ।
२२ फाल्गुन २०७६, बिहीबार १७:४३
मा प्रकाशित
Write your Comment