कुहिएको दाल राहतका लागि बेचेको आरोपमा कलैयाका मेयर यादब पक्राउ

९ बैशाख २०७७, मंगलवार १३:५१ प्रकाशित

बारा ९ बैशाख
राहतका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् ।
राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन्। यसअघिकलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो। त्‍यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो। यसअघि पक्राउ गरिएका हरूको बयान लिइ सकिएको र पक्राउ परेका मेयर यादबको पनि बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने उपरीक्षक पंगेनीले बताउनुभयो ।
त्‍यस्तै प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका ७-मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो।
कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो। नेपाली कांग्रेसका नेता तथा संविधानसभाका सदस्य राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले सञ्चालन गर्दै आएका छन्। उनी नेपाली कांग्रेसबाट मेयरमा विजयी भएका  हुुन भने नेता यादवका छोरा हुन्।

९ बैशाख २०७७, मंगलवार १३:५१  मा प्रकाशित

Write your Comment