काठमाडौँ ११ जेठ
प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावको समर्थन गरेको छ । भारतीय अतिक्रमणमा परेको लम्पियाधुरा, कालापानी र लिपेलुकलाई समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने गरी निशान छापमा समावेश गर्न सरकारले ल्याएको संशोधनको पक्षमा उभिने निर्णय कांग्रेसको आइतबारको बसेको पदाधिकारी बैठकले गरेको हो ।
सरकारले अतिक्रमित नेपाली भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेलगत्तै निशान छाप परिवर्तनका लागि शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो । कांग्रेस संशोधनको पक्षमा उभिएपछि सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पारित हुने पक्का भएको छ । यो सँगै भारतले बषौंदेखि अतिक्रमण गरेको कालीपानी क्षेत्रको नेपाली भूभाग अब संवैधानिक रुपमा नेपालको भूभाग भित्र समेटिने भएको छ ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सविधान संशोधनलाई अघि बढाउन पदाधिकारी बैठकले निर्णय लिएको बताउनुभयो । ‘कांग्रेसले यस बिषयमा पहिल्यैदेखि नै प्रष्ट धारणा राखेको थियो, अहिले पनि राख्दै आएको छ,’महतले भन्नुभयो ‘सविधान संशोधन प्रस्ताव प्रकृयामा अघि बढाउन कांग्रेसले आग्रह गरेको छ ।’उहाले नक्सा र निशाना छापमा नेपाली भूभाग समेटिएर मात्रै नहुने भन्दै भारतसँगको उच्चस्तरको कुटनीतिक संवादबाट भूमि नै फिर्ता ल्याउने पहल सरकारलाई गर्न आग्रह समेत गरेको बताउनु भयो ।
विपक्षी जनता समाजवादी दलले प्याकेजमै संविधान संशोधनका लागि साथ खोजेको बिषयमा भने कांग्रेसले छलफल गरेन । सभापति देउवाले जनता समाजवादीका नेताहरु प्याकेजमै संविधान संशोधनको बिषय लिएर आफूलाई भेट्न आएको जानकारी बैठकमा गराउनुभएको थियो । अतिक्रमित सिमानासँगको बिषयमा जनता समाजवादीले उठाएको बिषयलाई मिसाउन नहुने भन्दै पछि छुट्टै छलफलको बिषय बनाउनु पर्ने निष्कर्ष बैठकले निकालेको थियो । सह महामन्त्री महतले जनता समाजवादीले अघि बढाएको प्याकेजमा संशोधन गर्ने बिषयमा छलफल नभएको उहाँले बताउनु भयो ।
संविधान संशोधन प्रस्तावको बिषयमा औपचारिक निर्णय गर्नका लागि पदाधिकारी बैठकले पार्टी केन्द्रीय समिति बैठक बोलाउने पनि निर्णय गरेको छ ।