बीरगंज ३० जेठ :
पर्साको धोबिनी गांउपालिकाको क्वारेनटाइनबाट गए राती भागेका ४४ जना मध्ये ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धोबिनी गांउपालिकाको वडा नम्बर ४ लगंडीमा रहेको कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका ४४ जना गए राती भागेका थिए ।
क्वारेन्टाईनमा बसेकाहरू एकै पटक भागे पछि तिनीहरूलाई पक्राउ गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।
क्वारेनटाइनबाट फरार भएकाहरूलाई इलाका प्रहरी कार्यालय पोखियाबाट खटेको प्रहरी टोलीले उनीहरूको घरबाटै नियन्त्रणमा लिएको र फरार मध्ये एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताउनुभयो ।
नियन्त्रणमा लिएका ४३ जनालाई पुनः विद्यालयको क्वारेनटाइनमा राखिएको छ ।
क्वारेनटाइनमा बसेको २० दिनभन्दा पनि बढी भएको र पाँच दिन अगाडी पिसिआर परीक्षणका लागि गरिएको स्वाब सङ्कलनको रिपोर्ट नआएको भन्दै क्वारेनटाइनमा बसेकाहरू भागेका थिए ।
भारतको दिल्ली, हरियाणा, पन्जाब, केरलालगायतको ठाउँबाट आएका उनीहरूलाई २० दिन अगाडिदेखि नै क्वारेनटाइनमा राखिएको थियो ।
खेतीपातीको सिजन आएको र दुई हप्ताभन्दा बढी क्वारेनटाइनमा बस्दा पनि परीक्षणको रिपोर्ट नआएपछि आफूहरू बालबच्चा,घरपरिवारलाई पालन पोषण गर्न खेतीपाती गर्नका लागि भाग्न बाध्य भएको धोबिनी गांउपालिकाको क्वारेनटाइनमा बसेकाहरूले बताएका छन् ।
क्वारेनटाइनमा बसेकाहरू राती भागेर घर घरमा पुगेपछि स्थानीय बासिन्दाहरू भने त्रसित भएका छन् ।