बीरगंजको कोभिड अस्पतालमा ६५ बर्षिया एक व्यवसायीको मृत्यु, कोरोनाको आशंका

११ श्रावण २०७७, आईतवार १०:४३ प्रकाशित

वीरगंज
बीरगंज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेका एक व्यवसायीको आज विहान मृत्यु भएको छ ।
बीरगंजको आदर्शनगर निवासी ६५ बर्षिय श्याम सुन्दर बगरीयालाई श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि हिजो साँझ उपचारको लागी बीरगंजको नारायणी अस्पताल लगिएको थियो ।
बगरीया मुटु रोगी समेत रहेको र अस्पतालमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागी नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा आज बिहान साढे ६ बजे बगरियाको मृत्यु भएको र मृतकको पिसीआर रिपोर्ट भने आउन बाँकी रहेको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
यसअघि बीरगंजमा भारत माइती भई परवानीपुर बस्ने १७ वर्षीया युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरी गत मङगलबार आइसोलेसनमै ज्यान गुमाएका माइस्थानका ७० वर्षीय बृद्धमा विहिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार अर्को आदेश नभएसम्मका लागि बीरगंज महानगर क्षेत्र भित्र शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । बीरगंजमा कोरोना संक्रमण जनस्तरमा पुगेको र पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितहरु समेत देखा पर्न थालेका छन् ।
अस्थायी कोभिड अस्पतालमा उपचार भईरहेका कोरोना संक्रमित मध्ये ४ जनाको अबस्था जटिल रहेको छ । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

११ श्रावण २०७७, आईतवार १०:४३  मा प्रकाशित

Write your Comment