नेकपा एमालेको स्थायी कमिटी बैठक बस्नुअघि विघटित कार्यदलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरुबीच सिंहदरबारमा छलफल भइरहेको छ।
तीन बुँदे एजेण्डासहित एमाले स्थायी कमिटी बैठक बस्नुअघि दुवै पक्षका भनिएका दोस्रो तहका नेताहरु आपसी संवादमा जुटेका हुन्।
यसअघि गत बुधबार एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्रको विवाद शनिबारसम्म वारपार गर्न भनेका थिए। तर दोस्रो तहका नेताहरुले छलफल गरे पनि ओली-नेपाल संवाद गराउन नसक्दा एमालेभित्रको विवाद झन् कचल्टिएको छ।
आजको छलफलमा विघटित कार्यदलका सदस्यहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली र गोकर्ण विष्टसहित संवादमा जुटेका हुन्। विघटित कार्यदलका दुवै पक्षका नेताहरुले ओली र नेपाललाई संवादमा ल्याउन गरिरहेको कोसिस असफल भइरहेको छ।
पछिल्लो समय ओलीले नेपालसँग संवाद अघि बढाउन चाहेका छन्। तर नेता नेपालले आफू पक्षीय कार्यदलकै सदस्यहरूलाई समेत भेट दिन मानिरहेका छैनन्। उनीमाथि तेस्रो पुस्ताका नेताहरुबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानै पर्ने दबाब बढाइरहेका छन्।
ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेलले नेता नेपालसँग संवाद गरेका थिए। तर उनले आफू, झलनाथ खनाल या अष्टलक्ष्मी शाक्यमध्ये एकजनालाई दोस्रो अध्यक्ष बनाउनुपर्ने अडान राखेका छन्। नवौँ महाधिवेशनबाट पारित विधान अनुसार एमालेमा एकजना मात्रै अध्यक्ष हुने प्रावधान छ।
तर नेता नेपालले सहमति गरे पनि ओलीले फेरि एकपक्षीय निर्णय गर्न सक्ने भन्दै पार्टीमा दुवैजनाको हस्ताक्षर चल्नेसहित बराबरी हैसियतको अध्यक्ष पद भएमा मात्रै एकतामा जान सक्ने अडान राखिरहेका छन्।