खुल्यो मध्य भोटेकोशीको आईपीओ,१० देखि १० हजार कित्तासम्म भर्न पाइने

२० आश्विन २०७८, बुधबार १४:१७ प्रकाशित

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरआईपीओ)सार्वजनिक निष्काशन बिक्री खुल्ला गरेको छ।कम्पनीले कुल ९० करोड बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता सेयर आजदेखि निष्काशनमा ल्याएको हो।
निष्काशन गरिने कुल ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिसेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिने जनाइएको छ ।
कम्पनीले कुल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। आयोजनाको अनुमानित लागत करिब १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रति मेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा उल्लेख गरिएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल,प्रभु क्यापिटल,लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन्।

साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्काशनमा आवेदन दिई बाँडफाँटमा परेका शेयरधनीले यस निष्कासनमा पुनः आवेदन दिएमा आवेदन रद्द हुने उल्लेख गरेको छ ।

२० आश्विन २०७८, बुधबार १४:१७  मा प्रकाशित

Write your Comment