प्रधानन्यायाधीश जबराद्वारा तोकियो आफ्नै लागि इजलास,सबै प्रकृतिका मुद्दा पेसीमा

२३ कार्तिक २०७८, मंगलवार ११:३८ प्रकाशित

काठमाडौं २३ कार्तिक :
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सबैमुद्दाको पेसि तोके पछि जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ ।

बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडनुभएको छ।

मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि समेत एकल इजलास तोक्नुभएको छ । उहाले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास तोक्नुभएको छ । उहाको यो कदमबाट अरु न्यायाधीशहरू थप असन्तुष्ट हुने सम्भावना बढेको सर्वोच्च अदालतस्रोतले बतायो । स्रोतले भन्यो, ‘अब त झनै दुवै पक्षबीच संवाद हुने वातावरण पनि विथोलिदै गएको देखिन्छ ।’

नेपाल बार एशोसिएसनले सोमबार रातिमात्रै निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो । यसबाट आन्दोलिन कानून व्यवसायीहरू पनि थप आक्रोशित हुने निश्चित भएको छ ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, प्रधानन्यायाधीश जबराले इजलास तोकेपछि उनीबाहेकको अरु इजलास बस्ने सम्भावना छैन । स्रोतले भन्यो, ‘हदै भए एक/दुई वटा इजलास बस्न सक्छन् । त्यो सम्भावना पनि निकै कम छ ।’

२३ कार्तिक २०७८, मंगलवार ११:३८  मा प्रकाशित

Write your Comment