जीतपुरसिमराको पहिलो महिला मेयर बन्ने दौडमा सरस्वती, यस्तो छ जित्ने आधार

२५ बैशाख २०७९, आईतवार १९:१३ प्रकाशित

बाराः निडर स्वभावकी सरस्वती देवी चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा निर्वाचित हुने विश्लेषण गर्न थालिएको छ ।

बैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर मतदातामाझ मत माग्न व्यस्त चौधरी जीतपुरसिमरामा इतिहास रच्दै पहिलो महिला मेयरमा निर्वाचित हुने चर्चा सुरु भएको छ ।

जीतपुरसिमरामा अहिले त्रिपक्षीय भिडन्त छ । चौधरीसंगै लोकतान्त्रिक समाजवादी पार्टीका संजय साह र नेकपा माओवादी केन्द्रका राजन पौडेलले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । त्रिपक्षीय भिडन्तमा चौधरीले बाजी मार्ने आकलन जीतपुरसिमराबासीको छ ।

प्रमुख बन्ने दौडमा चौधरीपछि माओवादीका पौडेल र लोसपाका साह देखिएका छन् । अप्रत्याशितरुपमा लोसपाबाट उम्मेदवारी दर्ता गराएर चुनावमा उत्रिएका साह जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । विभिन्न संघसंस्थामा आवद्ध साह र चौधरीबीच प्रमुख पदका लागि प्रतिस्पर्धा हुने स्थानीय बताउछन् ।

चौधरी र पौडेलबीच प्रतिस्पर्धा हुने आकलन गरिएपनि माओवादीका उम्मेदवारलाई जीतपुरसिमराबासीले स्विकार्न नसकेको अवस्था देखिन्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा १० वटा वडामा निर्वाचित भएको माओवादीको कार्यसम्पादन सन्तोषजनक नरहेको स्थानीयबासी बताउछन् । एमाले नेतृत्वलाई असफल पारेर आफ्नो पक्षमा जनमत बटुल्ने र अर्को निर्वाचनमा मेयर बन्ने सपना देखेर नगरको बिकासलाई रोक्न अहम भूमिका खेलेको आरोप माओवादी उम्मेदवारमाथी छ ।

यसपटक नेपाली कांग्रेस भने प्रमुख बन्ने दौडमा छैन् । अघिल्लो चुनावमा एमालेको मुख्य प्रतिस्पर्धी बनेको कांग्रेस यसपटक प्रमुख पदको दौडबाटै बाहिरिन पुगेको छ । गठबन्धनका कारण उपमहानगरपालिकाको प्रमुख जस्तो पदमा उम्मेदवारी नै दिन नपाएको कांग्रेसमा उत्साह छैन् । प्रमुख पदको चुनावी दौडबाट बाहिरिएसंगै जीतपुरसिमरामा कांग्रेसको खासै चर्चा सुनिदैन् । कांग्रेस यतिबेला भागबण्डामा पाएको उपप्रमुख पदमा उम्मेदवारी दिएकी मेघा शाही र वडाका उम्मेदवार जिताउन लागिपरेको छ ।

गठबन्धनका नाममा कांग्रेसको अस्तित्व नै गुम्ने खतरा बढेपछि कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् । केन्द्रीय नेतृत्वको स्वार्थका कारण लामो समयदेखी जिल्ला, नगर र वडातहमा राजनीति गर्दै आएका कांग्रेसका नेताकार्यकर्ताको भावनामाथी खेल्ने काम भएको कांग्रेस कार्यकर्ता बताउछन् ।

असन्तुष्टीकाबीच प्राविधिक कारणले प्रमुख पदमा उम्मेदवारी दिन नसकेको कांग्रेसका कार्यकर्ता दस बर्ष जनयुद्ध गरेर आएको माओवादीको चुनाव चिन्हमा मतदान गर्न अनिच्छुक देखिएका छन् । गठबन्धनका नाममा फरक पार्टीलाई मतदान गर्नु आफ्नो बिचार र सिद्धान्त बेच्नु सरह हुने भन्दै टिकाटिप्पणी समेत सुनिन थालिएको छ ।

चौधरी कसरी बलियो ?
उपमहानगरपालिकाको प्रमुख पदकी उम्मेदवार चौधरी थारु, मधेसी र महिलालाई प्रतिनिधित्व गर्छिन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि उपप्रमुख पदमा रहेर अनुभव बटुलेकी चौधरीलाई नगरको बागडोर सम्हाल्न अफ्ठेरो देखिदैन् ।
चौधरीले आफ्नो पहिलो कार्यकालमा महिलालाई प्राथमिकतामा राखेर काम गरिन् । महिला हिंसा न्युनिकरण, महिला एकता, महिला सशक्तिकरण, महिला पुर्नस्थापना केन्द्र, महिला सम्मान, दक्ष महिला जनशक्ति उत्पादनलाई उनले प्राथमिकता दिईन् ।

नगरभित्र रहेको महिला अधिकार र सशक्तिकरणको क्षेत्रमा काम गर्ने संघसंस्थासंग सहकार्य गरेर उनि अगाडी बढिन् । आफ्नो कार्यकालमा सबै पार्टीमा आवद्ध महिलालाई समेटेर हिड्न सफल भएकी चौधरीको जित्न सक्ने पहिलो बलियो आधार भनेको महिला शक्ति हो ।

महिला अधिकारका विषयमा सशंक्त ढंगले आवाज उठाउने महिलासम्बद्ध संघसंस्थाहरु यतिबेला महिलाई पहिलो मेयर बनाएर ईतिहास रच्ने अवसर गुमाउन चाहदैनन् ।

मधेसी र थारु समुदायको मत चौधरीको अर्को शक्ति
चौधरीको अर्को बलियो आधार भने उनको प्रतिनिधित्व गर्ने समुदाय पनि हो । उनि थारु र मधेसी समुदायलाई प्रतिनिधित्व गर्छिन् ।

जीतपुरसिमरामा बसोबास गर्ने थारु र मधेसी समुदायलाई प्रतिनिधित्व गर्दै नगर प्रमुख पदमा उम्मेदवारी दिने चौधरी पहिलो महिला हुन् । चौधरी नगर प्रमुख पदमा निर्वाचित भए थारु र मधेसी समुदायको समेत प्रतिनिधित्व हुनेछ ।

जीतपुरसिमरामा थारु समुदायको मात्रै करिब नौ हजार मत रहेको छ । उक्त मत चौधरीको पक्षमा जाने बलियो सम्भावना छ ।

नगरबासीको योजनालाई प्राथमिकता

उपप्रमुख पदमा रहेर एक कार्यकाल बिताएकी चौधरीले नगरबासीको चाहनाअनुसारको योजनालाई प्राथमिकतमा राखेर अघि बढ्नु उनको अर्को जित्ने बलियो आधार हो ।

उपमहानगरपालिका भएपनि पूर्वाधारका हिसाबले अत्यन्तै कमजोर ठाँउमा उनले सडक, नाला, विद्यतु, कल्र्भट, चाँपाकल जडानलगायतका कामलाई प्राथमिकता राखेर अघि बढ्नि । नगरबासीको आवश्यकता अनुसारको योजनालाई कार्यान्यवन ल्याउन अग्रसर हुने गरी चौधरीलाई ति काम गरेका स्थानका मतदाताले रुचाउने निश्चित छ ।

चौधरीकै पहलमा पथलैयामा हाई मास लाईट जडान भयो । उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडी चौधरीले उक्त लाईटको उद्घाटन गरेकी थिईन् । उक्त लाईटले रात्री समयमा पथलैयाको मुख्य चोकमा निकै उज्यालो देख्न सकिन्छ ।

चौधरीकै पहलमा गढीमाई मन्दिर नजिक थारु संग्रालय निर्माणका क्रममा छ । थारु समुदायको संस्कृति संरक्षण हुने गरी चौधरीले संग्राहलयको अवधारणा ल्याईन् । उनले सबै समुदायको संस्कृति जोगाउन आफूले क्रमशः काम गर्ने उतिबेलै बताएकी थिईन् ।

चौधरीकै पहलमा जीतपुरसिमरामा संवेदनशील पाठेघरको निःशुल्क चेकजाच र उपचार गरियो । केही महिना अघि मात्रै सम्पन्न उक्त शिविरमा हजारौं महिलाले निःशुल्क चेकजाच र उपचार गराए । उपचारका क्रममा पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएका करिब ५० जना महिलाको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

चौधरीको निडर स्वभाव
चौधरी निडर स्वभावकी छिन् । उनि हत्तपत्त कसैको दवावमा पर्दिनन् । उपमहानगरपालिकाको कार्यपालिका भित्र बहस गर्न सक्ने क्षमता रहेको उनले अघिल्लो कार्यकालमा देखाएकी छिन् ।

जसका कारण नगर प्रमुख पदमा निर्वाचित भएपछि कसैको दवावमा रहेर उनले काम नगर्ने स्पष्ट हुने स्थानीय बताउछन् ।

२५ बैशाख २०७९, आईतवार १९:१३  मा प्रकाशित

Write your Comment