काठमाडौं १० असार :
बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं विरुद्ध २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
सेढाइले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ गरी २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तिायरले दर्ता गरेको आरोप पत्रमा उल्लेख छ ।
यस्तै अख्तिायर न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सेढाईं जिल्ला प्रशासन कार्यालय बारामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका छ्न । अख्तिायरले मुद्दा दर्ता गरेपछी स्वत : निलम्बनमा परेका छ्न ।