बारा २८ भाद्र : – बिरगंज औद्योगिक कोरिडोरमा बिगत केही समय देखि रोजगारदाता अर्थात उद्योगपतीले श्रम कानुन मिच्ने प्रबृत्ति व्यापक ढंगले वृद्धि भैरहेको छ !
श्रम ऎन र सामाजिक सुरक्षा ऎनको व्यापक उल्लंघन भएपनी नियमन निकाए श्रम तथा रोजगार कार्यालय, पर्सा रमिते भएको छ !
प्रहरी/प्रशासनको आडमा रोजगारदाताले श्रम शोषणका घटनाहरु तिव्र भएपछि जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) जिल्ला प्रशासन कार्यालय, पर्सा समक्ष ज्ञापन पत्र बुझाएको छ !
वीरगञ्ज महानगरपालिका वडा नम्बर – ३२ (परसवा) स्थित प्राइम फर्मास्युटिकल्स प्रा.ली.ले श्रमिकहरुलाई अनावश्यक दुःख र निष्कासन दिएको भन्दै व्हिनले आपत्ती जनाएको हो ।
रोजगारदाता अर्थात उद्योगहरुले श्रम कानुन नमान्ने, न्युनतम पारिश्रमिक लागु नगर्ने, नियमित रोजगार माग गर्दा धरपकड गर्ने, कार्यरत श्रमिकलाई जवरजस्ती राजीनामा पत्रमा हस्ताक्षर गराउने, गैरकानुनीमार्फत श्रमिक राख्ने लगायतका क्रियाकलाप भइरहेको व्हिनले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
प्राइम फर्मास्युटिकल्स प्रा.ली.मा कार्यरत श्रमिकहरुमाथि श्रम ऐन र सामाजिक सुरक्षा ऐन विपरितका क्रियाकलाप गरेको युनियनको ठहर छ ।
उद्योगले आठ घण्टा काम गरीसकेपछि पनि श्रम ऐन २०७४ विपरित जवरजस्ती ओभर टाइम बस्न दबाब दिने, ओभरटाइम बस्न नमानेको खण्डमा मुल गेटमा ताल्चा लगाइ बन्दी बनाउने, हाजिरी रजिष्टार लुकाईदिने, श्रमिकको इच्छाविपरित जवरजस्ती राजीनामा पत्रमा हस्ताक्षर गर्न दबाब दिने, नमानेमा हाजिरी गर्न र काम गर्न रोक लगाउने गरेको ज्ञापन पत्रमा भनिएको छ ।
यति मात्रै नभएर महिला श्रमिकको चेन्जिंग रुम र शौचालयमा अनुचित हर्कतसहितको निगरानी गर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
श्रम ऐन २०७४ ले निर्दिष्ट गरेका आधारभुत सुविधाहरु श्रमिकका नैर्गिक अधिकार भएपनी त्यस उद्योगमा विगत २/३ वर्ष देखि कार्यरत श्रमिकहरुलाई नियमित रोजगार पत्र नदिएको, उदेखी/संचय कोष नपाएको, सामाजिक सुरक्षा कोषमा सुचिकरण नगरेको श्रमिकको गुनासो छ ।
श्रमिकले उल्लेखित समस्याको सम्बोधनका लागि निवेदन दिँदा उल्टै पूर्वाग्रह राखेर कार्यरत श्रमिकलाई अनावश्यक मानसिक दवाव दिने, बहाना बनाएर स्पष्टिकरण सोध्ने र जवाफ चित्त नबुझेको भन्दै रोजगारबाट निकाल्ने गरेको समेत श्रमिकको दुखेसो छ ।
श्रम ऐन २०७४ को दफा १२५ को अधिकार प्रयोग गर्न माग गर्दै भदौ २४ गते शान्तिपुर्ण धर्ना बसेका श्रमिकलाई प्रहरी प्रशासन लगाएर धरपकड गराउने काम गरेको भन्दै व्हिनले ज्ञापन पत्र मार्फत भत्सर्ना गरेको छ ।
श्रम प्रशासनको बिचौलिया जस्तो भएको नेपालका श्रमिक प्रताडित हुनु परेको पीडित श्रमिकको गुनासो रहेको छ !
समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) सचिव गीता भण्डारीको नेतृत्वमा व्हिन केन्द्रिय सदस्य मनोज चौधरी र व्हिन मधेश प्रदेश सचिव प्रेम चौधरीको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले कम्पनीको मनोमानी रोकेर श्रम ऐन एवम् सामाजिक सुरक्षा ऐनको कार्यन्वयन गर्नुपर्ने माग राखेका छन् ।