नेपाल अरु कसैले चलाउने होइन,वाहिरी हस्तक्षेप स्विकार्य छैन : अध्यक्ष ओली

१ आश्विन २०७९, शनिबार १३:५१ प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने बताउनु भएको छ। संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा पार्टीद्वारा आयोजित पदयात्रालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले यसको सुरुवात गरेको बताउनुभयो ।
ओलीले भन्नुभयो, ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं ।’

अध्यक्ष ओलीले कैयौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर्भमा विद्वेष र तनावको विषय बनाउने कुचेष्टा भएको सम्झिनु भयो ।
नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भए । ती सबैलाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडायौं’, ओलीलेको भनाइ थियो ।

अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको उहाको टिप्पणी छ । लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेकाले मंसिर ४ गते देश, लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा ओलीको जोड थियो ।

लोकतन्त्र र राष्ट्रियताको पक्षमा लाग्न आव्हान गर्दै ओलीले भन्नुभयो, ”देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा मेरो अनुरोध लोकतन्त्र, राष्ट्रियताको पक्षमा, नेपालको सम्पूर्ण भूभाग हाम्रो हो, राष्ट्रिय अखण्डताको पक्षमा लाग्न आग्रह गर्छु ।’

अध्यक्ष ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।

उहाले‘नेपाल नेपालीको हो । नेपाल अरु कसैले चलाउने होइन । लोकतन्त्र नेपालको शासन हो । नेपाली जनताको शासन हो । नेपाली जनता, लोकतन्त्र हार्न हुँदैन, विकास हार्न हुँदैन, सुशासनको प्रयास हार्न हुँदैन ।’ भन्नुभयो ।
पदयात्राको उपस्थिति र उत्साहले संविधान, राष्ट्रियता र लोकतन्त्र र देशलाई सही बाटोमा अघि बढाउने संकल्प देखिएको भन्दै उहले धन्यवाद समेत दिनु भयो ।

आफ्नो मतव्यको अन्तिममा ओलीले राष्ट्रिय झण्डा फहराउन सबैलाई आग्रह गर्नुभएको थियो ।

१ आश्विन २०७९, शनिबार १३:५१  मा प्रकाशित

Write your Comment