प्राथमिक स्वास्थ्य केन्द्र सिमराबाट जीतपुरसिमरा अस्पतालको २४ घण्टे सेवा उद्घाटन

२६ माघ २०७९, बिहीबार ११:३० प्रकाशित

बारा २६ माघ :
जीतपुरसिमरा २ सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रस्तावित जीतपुरसिमरा अस्पतालको २४ घण्टे सेवा उद्घाटन गरिएको छ । स्वास्थ्य केन्द्र भवनबाट तत्काल सेवा प्रदान गर्ने गरी बुधवारदेखि सेवा शुभारम्भ गरिएको हो ।

जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले सेवा प्रारम्भ गरेका थिए । नगर प्रमुख पौडेलले प्रसुती र डायलासिस सेवा तत्काल उपलब्ध गराउने उदेश्यले केन्द्रकै भवनबाट सेवा प्रारम्भ गरिएको बताए । उनले स्वास्थ्य बीमा, जनतासंग स्वास्थ्य कार्यक्रमलगायतका योजना ल्याउन उपमहानगरपालिकाले काम गरिरहेको बताएका छन् ।नगर प्रमुखले सेवा प्रारम्भ गरेसंगै प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरसिमरा अस्पतालमा रुपान्तरित भएको छ । यसअघि स्वास्थ्य केन्द्रले प्राथमिक जाँच र खोप सेवा प्रदान गर्दै आएको थियो ।

अस्पतालका रुपमा रुपान्तरित भएसंगै २४ घण्टे ओपिडी, आकस्मिक र प्रसुती सेवा प्रदान गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रवी भाष्करले जानकारी दिएका छन् । उनले १० रुपैयामा ओपिडी र २५ रुपैयामा आकस्मिक सेवा लिन सकिने बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता मनोज पौडेलले अस्पताल सेवा संचालन गरिएको खुशी व्यक्त गर्दै दक्ष र विज्ञ जनशक्ति स्थायीरुपमा कायम गर्न आवश्यकता रहेको बताए । नेता पौडेलले जनशक्तिका लागी सम्बन्धित मन्त्रालयसंग माग गर्न सकिने र तसको लागि आफनो पार्टी सहित सबै दलको सहयोगरहने बताए ।                     

सेवा शुभारम्भ कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले अस्पतालको सेवा प्रारम्भ भएसंगै आफ्नो स्वास्थ्य परीक्षण गराउन नगरबासीलाई आग्रह गरेका छन् । अस्पतालका लागि आवश्यक पूर्वाधार तयार हुन केही समय अझै लाग्ने बताउदै पोखरेलले हाल उपलब्ध पूर्वाधार र जनशक्तिबाटै सेवा प्रदान गर्न स्वास्थ्य शाखा सक्षम रहेको बताए ।   

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै १५ शैयाको अस्पताल संचालन गर्ने उदेश्यसहित उपमहानगरपालिकाले असोज १० गते अस्पताल निर्माणको शिलान्यास गरेको थियो । नेपाल सरकारका तत्कालिन स्वास्थ्य मन्त्री भवानी खापुङले शिलान्यास गरेको उक्त अस्पताल निर्माणधिन अवस्थामा छ । उक्त अस्पताल निर्माणको काम सम्पन्न हुन अझै समय लाग्ने र निर्माण सम्पन्न नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्रबाटै सेवा प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख भाष्करले जानकारी दिए । वडा अध्यक्ष तथा स्वास्थ्य केन्द्रका अध्यक्ष धन बहादुर श्रेष्ठको सभापतित्वमा सप्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ नेपाली कांग्रेसका नगर सभापति छबिलाल शर्मा एकीकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो

२६ माघ २०७९, बिहीबार ११:३०  मा प्रकाशित

Write your Comment