नक्कली शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष मियाँ सिंहदरबारबाटै पक्राउ

४ जेष्ठ २०८०, बिहीबार १४:५६ प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ परेका छन् ।

पैसा ओसार्न मियाँले कमिटीको गाडी प्रयोग गर्ने गरेको प्रहरी हिरासतमा रहेका आरोपीले खुलासा गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको परिसरका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रहरीले गृह मन्त्रालयको बा १ झ १५८१ नम्बरको सरकारी गाडी बरामद उक्त गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेपछि उनको खोजी गरिरहेको थियो ।

मिया काम विशेषले सिंहदरबार छिरेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

उनले गृह मन्त्रालय अन्तरगत नेपाल हज कमिटीको सचिवालयमा सहसचिव सरहको सेवा सुविधा लिइरहेका थिए ।

नेपाल हज समिति कार्यविधि २०७२ अनुसार नेपाली मुस्लिमको प्रमुख धार्मिक कार्य हज र उमरा सम्बन्धी धार्मिक यात्रालाई व्यवस्थित तथा प्रभावकारी रूपले सञ्चालन गर्नका लागि सरकारले नेपाल हज समिति गठन गरेको छ ।

मन्त्रालयले तोकेको इस्लाम धर्म तथा हज यात्राको बारेमा विज्ञ व्यक्तिका रूपमा मिणँ हज समितिको अध्यक्ष रहेका छन् ।

कार्यविधि अनुसार २ वर्षे कार्यकालमध्ये उनको अब एक वर्षे कार्यकाल बाँकी रहेको थियो ।

४ जेष्ठ २०८०, बिहीबार १४:५६  मा प्रकाशित

Write your Comment