कीर्तिमानी सगरमाथा आरोही हरिलाई एमालेको सम्मान

१४ जेष्ठ २०८०, आईतवार १४:४२ प्रकाशित

काठमाडौं १४ जेष्ठ :
नेकपा एमालेले सगरमाथा आरोही हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ।

कृतिम खुट्टाको सहायताले बुढा मगरले सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका थिए।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा बुढा मगरलाई सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बुढा मगरले गरेको सगरमाथाको सफल आरोहणले अपांगता भएका व्यक्तिहरूलाई मात्र नभएर सबै नेपाली र विश्वका लागि नै प्रेरणादायी रहेको बताए।

भूतपूर्व गोरखा सैनिक मगरको दुवै खुट्टा छैन। उनले कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गरेका थिए।

सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन्।

बुढा मगरले यसअघि मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरिसकेका थिए।

उनले गत जेठ ५ गते सगरमाथाको आरोहण गरेका थिए।

१४ जेष्ठ २०८०, आईतवार १४:४२  मा प्रकाशित

Write your Comment