निजगढ नगरपालिकाका किसानका लागि बीमा अपरिहार्य : नगर प्रमुख पुरी

२४ असार २०८०, आईतवार १८:४० प्रकाशित

असार २४, निजगढ

निजगढ नगरपालिककाका नगर प्रमुख सुरथ पुरीले निजगढ नगरपालिकाका हरेक किसानको लागि बीमा कार्यक्रम अपरिहार्य रहेको बताउनु भएको छ ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा बाराको निजगढ नगरपालिकामा भएको बीमा सम्बन्धि एक दिने अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख पुरीले किसानको हकहितका लागि बीमा कार्यक्रमलाई जोड्दै अगाडि बढ्ने बताउनुभएको हो ।

उहांले निजगढ नगरपालिका बिषेशत कृषि क्षेत्र त्यसमा पनि केरा खेतीमा प्रसिद्ध रहेको क्षेत्र भएको बताउदै यहाॅका हरेक किसानका लागि बीमा कार्यक्रम आवश्यक भएकोले बीमाको सुविधाका लागि आफुले पहल गर्ने बताउनु भयो । उहांले स्थानिय तह, बीमा प्राधिकरण, बीमा कम्पनी र किसान एक अर्काका परिपुरक रहेको बताउदै सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा निजगढ केरा उत्पादक संघका अध्यक्ष एक बहादुर श्रेष्ठले केरा किसानका लागि बीमा धेरै नै आवश्यक रहेकोले बीमा कम्पनीले सहज रुपमा किसानको बीमा गर्नुपर्ने तथा समयमै बीमा दावि भुक्तानी दिन पर्नेमा जोड दिनुभयो ।

यस्तै बीमा कम्पनीको तर्फबाट बोल्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिमरा शाखा प्रमुख श्रीराम रेग्मीले आफुहरु किसानले लगाउने खेती बाली तथा पशुको बीमा गर्न सदैव तत्पर रहेको बताउनुभयो । उहांले बारा जिल्लाको कृषि बीमाका लागि हिमालयन एभरेष्टलाई प्राधिरणले छुट्याएकोले निजगढका केरा किसान तथा सबै किसानको बीमा आफुहरुले गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताउनु भयो । कार्यक्रममा बागदेव दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटा, निजगढ नगरपालिकाका बिभिन्न बडाका बडा अध्यक्ष, अगुवा कृषक, बीमा कम्पनीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती दिनुभएको थियो । मधेश प्रदेश कार्यालयका अनिश तिमिल्सिनाको स्वागत रहेको कार्यक्रमको सहजीकरण बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेको रहेको थियो ।

२४ असार २०८०, आईतवार १८:४०  मा प्रकाशित

Write your Comment