नेपाल आयल निगम अमलेखगन्जको लापरवाहिले बालकको ज्यान गयो

१७ माघ २०८०, बुधबार १३:०१ प्रकाशित

सिमरा १७ माघ :

बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधवार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो ।

घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालय अगाडी पोलमा भर्‍याङ बनाउन राखिएको रडमा छेडिएका थिए । रडले गोलेको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटना पश्चात वालकलाई सिमरा स्थित अल्पाईन अस्पताल ल्याएको र डाक्टरले मृत घोषित गरेका थिए ।

गोले जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनि विद्यालयको पोशाक लगाएर आयल निगम अगाडी रहेको पार्किङस्थलतर्फ जादै थिए । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल संचालन गर्दै आएकी थिईन् । गोले पार्किङ स्थलबाट विद्यालयका लागि बस चढ्ने गरेका थिए । सधैझैं पार्किङ स्थलतर्फ हिडेका गोलेको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।

आयल निगमले कार्यालयबाट कर्मचारी निवासतर्फ विद्युतिकरणका लागि करिब तीन वर्ष अगाडी उक्त पोल राखेको थियो । पोलमा चढ्नका लागि रड राखेर भर्‍याङ बनाइएको थियो । विद्युतिकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न वेवास्था गर्दा घटना हुन पुगेको हो ।

अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश पोखेका छन् । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै घटनाको जिम्मेवारी निगमले लिनुपर्ने बताए । वडाध्यक्ष श्रेष्ठले पीडित परिवारलाई निगमले उचित क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् ।

गोलेको शव शल्यपरीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ ।

१७ माघ २०८०, बुधबार १३:०१  मा प्रकाशित

Write your Comment