भीम उपाध्याय सहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुख तामाङसमेत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

६ फाल्गुन २०८०, आईतवार १७:५५ प्रकाशित

काठमाडौं ६ फागुन :
अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियारका स्रोतले दिएको जानकारी अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।

विशेष अदालत काठमाण्डौमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको स्रोतले बतायो ।

अख्तियारका अनुसार ठेकेदारसँगको मिलेमतोमा एसियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौताविपरीत तथा कानूनले तोकेभन्दा बढी २० प्रतिशत दुई किस्तामा अतिरिक्त मोबिलाईजेसन पेश्कीबापत भुक्तानी गरिएको,सरकारी सम्पत्ति हानी नोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको, पेश्की फर्च्छयौट नहुँदै निर्माण व्यवसायीको जमानतको व्याज असुल नगरेको अभियोगपत्रमा उलेख छ ।

अख्तियारका अनुसार खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो माग गरिएको छ ।

तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ रूपैयाँ र हालका अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङसँग ११ करोड ९ लाख १७ हजार ४५८ रूपैयाँ बिगो दाबी गरिएको अख्तियार श्रोतले जनाएको छ ।

६ फाल्गुन २०८०, आईतवार १७:५५  मा प्रकाशित

Write your Comment