जीतपुरसिमरा क्रिकेट कप : पर्सा फाईनलमा प्रवेश, कलैया पराजित 

५ चैत्र २०८०, सोमबार ०८:०२ प्रकाशित

सिमरा, ०५ चैत्र

बाराको सिमरामा जारी जीतपुरसिमरा क्रिकेट कप अन्तर्गत आईतबार भएको दोस्रो खेलमा पर्सा क्रिकेट संघ बिजयी भएको छ । जीतसंगै पर्सा क्रिकेट संघ जीतपुरसिमरा टी–२० क्रिकेट कपको फाइनलमा प्रवेश गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो ।

लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो । दुई खेल जीतेको पर्साले समूह ‘ए’ को विजेताको रुपमा उपाधी होडमा उभिन सफल भएको हो ।

राष्ट्रिय टोलीका सदस्य अनिलकुमार साह सम्मिलित कलैयालाई पराजित गर्ने क्रममा पर्साले उत्कृष्ट प्रदर्शन गरेको थियो । टस जितेर ब्याटिङ रोजेको कलैयाविरुद्ध पर्साका बलर हावी भए । पर्साले १६.४ ओभरमा सम्पूर्ण विकेट लिदाँ कलैयाले ७९ रन जोडेको थियो ।

कलैयाका लागि अनिलकुमार साह र साहिल पटेलले ११-११, भुलावन सहनीले १० र सेराज हवारीले अविजित १४ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् । कलैयालाई सस्तैमा समेटने क्रममा पर्साका अनुज चौहानले तीन विकेट लिए । अनुजले ९ बलमा पाँच रन दिँदै कलैयाको तीन विकेट लिए । यस्तै चन्दन राम र सम्साद मन्सुरीले समान दुई–दुई विकेट लिँदा वसिम मन्सुरी, सोनु शर्मा, अल्फाज मन्सुरीले एक–एक विकेट लिएका थिए ।

८० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पर्साले पाँच विकेट गुमाउँदै १९औं ओभरमा जीत निकालेको थियो । पर्साका लागि अनुज चौहानले सर्वाधिक ३० रन बनाए । खेलमा अविजित रहेका उनले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै टिमलाई जीत नजिक पुर्याएका थिए ।

पहिलो ओभरमै विकेट गुमाएर खराब सुरुवात गरेको पर्साको इनिङ असाब हुसेन र सुरज पटेलले सम्हालेका थिए । असाबले १० र सुरजले १९ रन बनाए । कलैयाका लागि त्रितराज दासले दुई विकेट लिए । दास शनिबार सम्पन्न कोशी टी–२० च्याम्पियनसिपको उपाधी नेपाल आर्मीले जित्दा प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कलैयाका लागि अन्य दुई विकेट भुलावन सहनी र शंकर पौडेलले लिए ।

पर्साका जीतमा उत्कृष्ट प्रदर्शन गरेका अनुज चौहान प्लेयर अफ दि म्याच समेत घोषित भए । उनलाई शुभारम्भ कलेजका संचालक डा. राहुल झाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमबार समूह ‘ए’ को अन्तिम खेलमा कलैया क्रिकेट क्लब र आयोजक भिड्नेछन् । दुवै टिम प्रतियोगिताको उपाधी होडबाट बाहिरिसकेका छन् ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, भैरहवा, जनकपुरका ६ टिम सहभागी छन् ।

 

५ चैत्र २०८०, सोमबार ०८:०२  मा प्रकाशित

Write your Comment