जीतपुरसिमरा क्रिकेट कप:कंसाकारको उत्कृष्ट शतक र ५ विकेटको मद्दतले मकवानपुर बिजयी

६ चैत्र २०८०, मंगलवार २१:१८ प्रकाशित

सिमरा  ६ चैत्र

बाराको सिमरामा जारी जीतपुरसिमरा टि–२० क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा मकवानपुर क्रिकेट संघ विजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो ।

मकवानपुरको जीतमा नायक बनेका अलराउन्डर शुभ कंसकारले जनकपुरविरुद्ध शानदार सतक प्रहार गरे बलिङतर्फ पाँच विकेटपनि लिए । टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रन जोडेको थियो ।उसका लागि ओपनर कंसकारले विष्फोटक ब्याटिङ गर्दै १११ रन जोड्ने क्रममा ५५ बलमा आठ छक्का र नौ चौका प्रहार गरे । कप्तान सुमन सुनारले अविजित २४, गौरव खड्का र आस्तिक दाहालले समान १८ रन बनाए । जनकपुरका बि. धवन सहनी, साइमोन रोय, अभिजित मण्डलले समान एक–एक विकेट लिए ।

मकवानपुरले दिएको १८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुरले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटर चल्न नसक्दा पराजित हुन पुग्यो । जनकपुरका ओपनर अलि अकबर अंसारी र हिमांशु दत्तले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनिहरुले पहिलो विकेटका लागि ७९ रनको साझेदारी समेत गरेका थिए । तर मकवानपुरका अशिम श्रेष्ठले अंसारीको विकेट लिदै पहिलो सफलता हात पारे ।

अंसारीपछि क्रिजमा आएका विशाल सुस्लिङ समेत उस्तै लयमा देखिदा जनकपुरको जीत सहज बनिरहेको थियो । तर खेलको १२औं ओभरमा बलिङ गर्न आएका कंसकारले सुस्लिङ र पर्शुराम यादवलाई एउटै ओभरमा पेभेलियन फर्काए । १७ बलमा १९ रन बनाउँदै खेलिरहेका सिस्लुङको विकेट लिएका कंसकारले त्यसपछि क्रिजमा आएका यादवलाई शुन्यमै आउट गरे ।

कंसकारले एक ओभरमै दुई विकेट लिएपछि जनकपुरको पालि धर्मराउन पुग्यो । १२१ को स्थितिमा दोस्रो विकेट गुमाएको जनकपुरले १३८ रन जोड्दा आठ विकेटको क्षति व्यहोरेको थियो । चन्दन यादवले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

मकवानपुरका कंसकारले तीन ओभर बलिङ गर्दै सात रन खर्चिएर पाँच विकेट लिए । पियुश शर्माले दुई, समिर चौलागाईं, अशिम श्रेष्ठ र सुवर्ण भट्टले समान एक–एक विकेट लिए ।

कंसकार खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेलले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बुधबार जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवाबीच खेल हुनेछ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । यो समूहको विजेताले लागि पर्सा क्रिकेट संघसंग चैत १० गते उपाधिका लागि खेल्नेछ । समूह ‘ए’ को विजेता बन्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

६ चैत्र २०८०, मंगलवार २१:१८  मा प्रकाशित

Write your Comment