एसइई परीक्षा आज : ५ लाख परीक्षार्थीले २ हजार ६४ केन्द्रमा परीक्षा परीक्षा दिदै

१५ चैत्र २०८०, बिहीबार ०६:४५ प्रकाशित

आज ( बिहिबार )बाट यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई)सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१, मनाङमा ४३ र मुस्ताङमा एक सय सात विद्यार्थी एसइईमा सहभागी हुँदै छन् ।

परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार नौ सय ५० सुरक्षाकर्मी हुन् । बोर्डले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

२७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ । परीक्षण केन्द्रमा उत्तरपुस्तिका पु¥याउने र नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै रहने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनका अनुसार ७७ वटै जिल्लामा एसइईका लागि सहज व्यवस्थापन गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यसपटक परीक्षाको नतिजाको प्रणाली परिवर्तन गरेको छ । बोर्डका कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार हरेक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याएको विद्यार्थी मात्रै उत्तीर्ण हुनेछन् । त्यस्तै, बोर्डले प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरेको छ । बोर्डका अध्यक्ष शर्माका अनुसार प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ ।

१५ चैत्र २०८०, बिहीबार ०६:४५  मा प्रकाशित

Write your Comment