अन्तशुल्क स्टिकर खरिदमा ३८ करोड भ्रष्टाचार, मुख्यसचिवसहित यी ११ जनालाई बनाइयो प्रतिवादी

१० असार २०८१, आईतवार १९:१४ प्रकाशित

जनही ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो

काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको अख्तियारको निष्कर्ष छ ।

त्यस्तै अख्तियारले अर्यालसहित हाल अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हाल भन्सार विभागका उपनिर्देशक टंक पाण्डेविरुद्ध पनि मुद्दा दायर गरेको छ भने आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाह र आन्तरिक राजस्व विभागका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल अख्तियारले प्रतिवादी बनाएको छ ।

त्यस्तै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालिन शाखा अधिकृत हरिबल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रका लेखा अधिकृत विष्णुप्रसाद गौतम र सुरक्षण मुद्रण केन्द्रका खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ र प्रिन्ट सेल प्रालिका निर्देशक अर्का एक केशव शर्माविरुद्ध पनि मुद्दा दायर भएको छ । जसमा बिगो ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैया कायम गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

मुख्यसचिव अर्याल टेरामक्स प्रकरणमा पनि मुछिएका छन् । यो प्रकरणमा पूर्वमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेतमाथि पनि अनुसन्धान भइरहेको छ । अख्तियारले केही दिनमै टेरामक्समा पनि मुद्दा दायर गर्दैछ ।

१० असार २०८१, आईतवार १९:१४  मा प्रकाशित

Write your Comment