कांग्रेस–एमाले सहमति : पहिलो कार्यकाल ओली प्रधानमन्त्री, चुनावी सरकारको नेतृत्व देउवाले गर्ने

१९ असार २०८१, मंगलवार ०६:५८ प्रकाशित

पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने

संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ । निरन्तरको गृहकार्यपछि कांग्रेस र एमालेका शीर्ष नेताहरू सोमबार मध्यराति नयाँ सत्ता समीकरण बनाउन सहमत भएका हुन् । संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धता दुवै दलले व्यक्त गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार तत्काल सरकारको नेतृत्व एमालेले गर्ने छ  । सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष ओलीले लिने सहमति भएको उच्च स्रोतले जानकारी दियो । त्यसको डेढ वर्षपछि २०८४ को चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।

स्रोतका अनुसार उक्त सरकारलाई ‘राष्ट्रिय सहमतिको सरकार’को नाम दिने विषयमा छलफल चलिरहेको छ ।

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दललाई पनि आह्वान गरिने छलफलमा सहभागी श्रोतले जनायो ।

सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । कांग्रेसको भागमा गृहसहित १० वटा मन्त्रालय पर्नेछन् । बाँकी मन्त्रालय साना दलको लागि राखिने भएको स्रोतले बतायो ।

साना दलको निरन्तरको बार्गेनिङपछि जनतामा निराशा छाएको भन्दै प्रमुख दुई दलले जनतालाई सकारात्मक सन्देश दिनेगरी सरकारले काम गर्ने दाबी गरेका छन् ।

दुई दलबीच सातवटै प्रदेश सरकारमा पनि भागबण्डा भएको छ । जसमा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।

त्यस्तै एमालेले कोशी, कर्णाली, लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ । मधेस सरकारको नेतृत्व मधेस केन्द्रित दलबाट हुने समझदारी जुटेको छ ।

नागरिकमा निराशा छाएको भन्दै संविधान शंसोधनको लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान शंसोधन सुझाव समिति पनि बनाउने सहमति पनि भएको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधारगरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ। राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ।

यसअघि गत वैशाखमा पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउने समझदारीनजिक पुगे पनि त्यो प्रयास स्थगित भएको थियो । तर, यसपटक देउवा र ओलबीच दुई तीन चरणको छलफलपछि असार १५ गते बालकोटमा तीन घण्टा लामो छलफल भएको थियो । सोही छलफल अनुसार दुवै दल नयाँ समीकरणमा सहमत भएका हुन् ।

शीर्ष तहमा सहमति जुटेपछि कांग्रेसका रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले मन्त्रालय, प्रदेशसहितको भागबण्डा टुंग्याएका हुन् ।

ललितपुरस्थित एक होटेलमा दोस्रो तहका नेताबीच सहमति जुटाइएको थियो । त्यसपछि कांग्रेस र एमालेका नेताले आन्तरिक छलफल गरेर सहमतिलाई अन्तिम रूप दिएको स्रोतको दाबी छ ।

कार्यदलस्तरमा सहमति जुटेपछि कांग्रेसका शीर्ष नेता ओलीसँगको छलफलका लागि मध्यरात बालकोट पुगेका थिए ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीले बनेकोले ओलीले प्रचण्ड विस्थापित हुँदा पनि यही धारामार्फत् आफू प्रधानमन्त्री हुने ग्यारेन्टी खोजेका छन् ।

१९ असार २०८१, मंगलवार ०६:५८  मा प्रकाशित

Write your Comment