जितपुरसिमरा उपमहानगरले भुक्तानी नदिएको भन्दै ठेकदार क्षेत्री पुगे अदालत

२४ श्रावण २०८१, बिहीबार २२:३९ प्रकाशित

जितपुरसिमरा उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माणको भुक्तानी नदिएको भन्दै ठेकेदार बारा जिल्ला अदालत कलैया पुगेका छन्। आफुले कामगरेको झण्डै ८१ लाख रुपैयाँ भुक्तानी नपाएको भन्दै ठेकेदार बलराम क्षेत्रीले बारा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । २०७९ सालमा नयाँ जनप्रतिनिधि आएपछि उपमहानगरको प्रशासकीय भवनको सुरुवात गरिएको थियो । सो भवनको जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले शिलान्यास गरेका थिए ।भवनको फाउन्डेसन निर्माण भएको र त्यसपछिको काम बाँकी रहेको छ। सम्पन्न भएको कामको पनि भुक्तानी नपाएको भन्दै लामो समय देखि निर्माण ठेकेदार नगरपालिकामै भौतारीरहेका थिए। सो रकम भुक्तानी दिन कार्यपालिका र नगरसभाले समेत निर्णय गरिसकेकोमा भुक्तानी नपाएर जिल्ला अदालत जान बाध्य भएका क्षेत्रीले बताए। आफूले घरखेत बेचेर भवन निर्माणमा लगाएको तर अहिले दुई वर्षदेखि भुक्तानी नपाएकोले आफ्नो उठीबास हुनलागेको हुदा अदालतमा मुद्दा हाल्न जानुपरेको क्षेत्रीले बताए । काम गरेर भुक्तानी नपाउँदा अत्यन्तै दुःख लागेको उनको भनाइ छ । क्षेत्रीले क्षेतिपुर्ती सहित झन्डै सवा करोडको मुद्दा हालेका छन । जितपुरसिमराको झण्डै गत आ.व को २९ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ। नगरसभा अहिलेसम्म विवादमै रुमलिएको छ।

२४ श्रावण २०८१, बिहीबार २२:३९  मा प्रकाशित

Write your Comment