११ उपमहानगरपालिकामध्ये बुटबल पहिलो,कलैया पाँचौ,जितपुरसिमरा दशौ र जनकपुर एघारौं स्थानमा

१० भाद्र २०८१, सोमबार १९:११ प्रकाशित

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार ११ वटा उपमहानगरपालिकामध्ये वुटवल उपमहानगरपालिका अब्बल ठहरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुटवल उपमहानगरपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेर अब्बल ठहरिएको हो । आर्थिक बर्ष ७९/ ८० मा उक्त बुटबल अब्बल ठहरिँदा दोश्रोमा हेटौंडा उपमानगरपालिका ८६ दशमलव ५० अंक सहित दोश्रो,घोराही उपमहानगरपालिका ८५ दशमलव २५ अंकसहित तेश्रो बनेको छ ।

शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन,वित्तिय एव आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्यसम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा गरिएको मूल्यांकनमा घोराही उपमहानगरपालिका ८५ दशमलव २५ अंकसहित तेश्रो स्थानमा छ । यस्तै ८२ अंकसहित धनगढी उपमहानगरपालिका चौंथो स्थानमा रहेको छ भने कलैया उपमहानगरपालिका ८१ दशमलव ५५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
७९ दशमलव २५ अंकसहित इटहरि उपमहानगरपालिका छैंटौं स्थानमा रहँदा ७६ अंकसहित तुल्सीपुर सातौंं स्थानमा रहेको छ । आठौं स्थानमा रहेको धरान उपमहानगरपालिकाले ७० दशमलव ७५ अंक प्राप्त गरेको छ भने नवौं स्थानमा रहेको नेपालगञ्जउपमहानगरपालिकाले ६४ दशमलव ६५ अंक प्राप्त गरेको छ । यस्तै दशौं स्थानमा जतिपुरसिमरा उपमहानगरपालिका रहेको छ । उक्त पालिकाले ६४ दशमलव ५० अंक प्राप्त गर्दा उपमहानगरपालिकामध्ये सबैभन्दा कमजोर जनकपुर उपमहानरपालिकाको देखिएको छ । उक्त पालिकाले ५९ दशलमव ५० अंक पाएको छ । महानगरपालिकामा सहसचिवको दुख छैन तर उपमहानगरपालिकाको कन्तबिजोग कस्तो छ भने, अहिले ११ वटा उपमहानगरपालिकामध्ये अधिकांशमा उपसचिव हाकिम छन् ।

उपमहानगरपालिकामात्र होइन महानगरपालिकामा पनि मधेश प्रदेशकै पालिकाको कमजोर प्रस्तुति देखिएको छ । देशभरका ६ महानगरपालिकामध्ये मधेश प्रदेशमा रहेको एक मात्र महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले ५९ दशमलव ५० अंक पाएको छ ।
ललितपुर महानगरपालिकाले ८४ दशमलव ५० अंक प्राप्त गरेर महानगरपालिकामध्ये अब्बल ठहरिएको छ । यस्तै भारतपुर महानगरपालिकाले ८३ दशमलव ८३ अंक प्राप्त गर्दा विराटनगर महानगरपालिकाले ८२ दशमलव ५० अंक,पोखरा महामगरपालिकाले ८० दशमलव ७५ अंक,काठमाडौँ महानगरपालिका ७७ दशमलव ५० अंक र स्वमूल्यांकनमा वीरगन्जले ५९ दशमलव ५० अंक मात्रै पाएर स्वमूल्यांकनमा कमजोर देखिएको छ ।

देशैभरका नगरपालिकाका तर्फबाट नीलकण्ठ नगरपालिका धादिडले ९२ दशमलव ५० अंकसहित प्रथम भएको छ । यस्तै तिलोत्तमा नगरपालिका ९२ अंकसहित देशभरीका नगरपालिकामध्ये दोश्रो र रत्ननगरपालिका ९१ दशमलव ५० अंक्सहित देशभरका नगरपालिकामध्येबाट तेश्रो भएको छ । यस्तै गाउँपालिकातर्फ वेनिघाट रोराङ ८७ दशमलव २५ अंकसहित प्रथम, रुरुक्षेत्र गाउँपालिका ८७ नम्बरसहित दोश्रो र ईन्द्रावती गाउँपालिका ८७ अंकसहित तेश्रो स्थान हासिल गरेका छन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच यी पालिकाहरुलाई सम्मान समेत गरिएको छ ।

१० भाद्र २०८१, सोमबार १९:११  मा प्रकाशित

Write your Comment