मटिअर्वामा तस्करी छुट गरेको आरोपमा सशस्त्र प्रहरीका डीएसपी मुख्यालय तानिए

२ पुष २०८१, मंगलवार २१:४७ प्रकाशित

कलैया २ पौष :
बाराको मटिअर्वास्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विदुर भट्टराईलाई छानबिनका लागि सशस्त्र प्रहरी मुख्यालयले तानेको छ। तस्करी कार्यमा संलग्न रहेको गुनासो तथा उजुरी परेपछि उनलाई मुख्यालयमा तानिएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले दिएको जानकारीअनुसार डीएसपी भट्टराईमाथि छानबिन र अनुसन्धान भइरहेको छ। तस्करीमा संलग्नता रहेको आरोपसँगै डीएसपी भट्टराईले आर्थिक लाभ लिएर मटिअर्वा नाकाबाट व्यापक तस्करी गराएको उजुरी मुख्यालयमा परेको थियो।

प्राप्त जानकारी अनुसार डीएसपी भट्टराई स्वयं नाकामा खटिएर तस्करहरुसँग आर्थिक लेनदेन गर्दै तस्करी गराएको आरोप छ। उक्त उजुरी परेपछि सशस्त्र प्रहरी बल मुख्यालयले उनलाई पाँच दिनअघि नै तानेको हो।
सशस्त्र प्रहरीले यस घटनाको गम्भीरताका साथ छानबिन गरिरहेको र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

२ पुष २०८१, मंगलवार २१:४७  मा प्रकाशित

Write your Comment