बालकोट हत्या प्रकरण : जेठो छोरा मिलनले नै गरेका थिए बाबु र भाइको हत्या

९ पुष २०८१, मंगलवार १४:१५ प्रकाशित

काठमाडौं ९ पुस :
भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्या भएको खुलेको छ ।

सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।

उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धान कार्यालयका बरिस्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले मिलनले हत्या गरेको स्वीकार समेत गरेको बताए ।

‘महाराजगञ्जबाट मिलनलाई नियनन्त्रणमा लिएका छौं । उनले हत्या स्वीकार समेत गरेका छन्’, भट्टराईले भने । हत्या गर्नुको कारणमा भने उनले पारिवारिक तानव भएको बताएका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । यसको विष्तृत अनुसन्धान हामी गर्दैछौं ।’

पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको हत्या गरेको उनको भनाइ रहेको प्रहरीले स्रोतले बतायो । बाबु र भाइको हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको उनले बताएका छन् ।

मिलनलाई उद्दृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ । तर सफल भएन ।’

केही दिन अघि मात्रै कुलप्रसाद हुलाक विभागमा काम छ भन्दै काठमाडौं आएका थिए । त्यसपछि उनी आफ्नो छोराहरुको कोठामा बस्न गएका थिए । गत शनिबार पनि कुलप्रसाद आफ्ना छोराहरुसँगै बालकोटस्थित कोठामा बसेका थिए । त्यस राति उनीहरुले मासु पकाएर समेत खाएका थिए ।

उनीहरु बस्ने उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।

कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सो क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए । सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो ।

त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन । मोबाइल समेत अफ गरेर उनी सम्पर्कविहीन भएका थिए । मंगलबार भने महाराजगञ्जमा उनी भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मिलनलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइने वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाउने छ ।

९ पुष २०८१, मंगलवार १४:१५  मा प्रकाशित

Write your Comment