सिमरा १० पौष :
जिल्ला प्रहरी कार्यालय,बाराले मंगलबार राति ३० लाख ६७ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरचोकमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ४ ख ३९८४ नम्बरको ट्रकमा बिल बिजक भन्दा बढी सामान फेलापरे पछि स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ। ट्रकबाट कपडा, चना, ब्याट्री र थर्माकोल दानालगायतका सामग्रीहरू बरामद भएका छन्, जसको अनुमानित मूल्य ३० लाख ६७ हजार ७९६ रुपैयाँ रहेको छ।
बरामद गरिएको सामान र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठइएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
प्रहरीले अवैध सामानको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको जनाएको छ।