बारा,पर्सा सहित मध्य तराइमा शितलहर शुरु,जनजीवन प्रभावित
कलैया १५ पौष :
बारा,पर्सा सहित मध्य तराईका जिल्लाहरूमा शीतलर र चिसो वात्तै बढेको छ। चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ। पुस महिनाको मध्यतिरबाट बढ्दै गएको चिसोले बालबालिका र वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन्।
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएसँगै मध्यतराईका क्षेत्रहरूमा चिसोको प्रभाव झनै बढेको छ। हिजो आइतबार सम्म घाम लागिरहेको मध्य तराईमा आजबाट बाट मौसम पूर्ण रूपमा बदली भएर बिहानैदेखि आकाश धुम्मि लिएर बाक्लो कुइरो र तुसारो समेत परेको छ।
मौसम विभागले देशभर सामान्य रूपमा मौसम सफा रहने अनुमान गरे पनि बिहान पख मधेसका क्षेत्रमा बादल लागेर चिसो बढेको बताएको छ। यसअघि पुस महिनाभर मध्यतराईमा अत्यधिक चिसो महसुस गरिने भए पनि यो वर्ष भने आजदेखि मात्र चिसो बढेको स्थानीयहरू बताउँछन्।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने वृद्धवृद्धाहरू घुर तापेर चिसो छल्ने प्रयास गरिरहेका छन् भने सहरी क्षेत्रमा हिटर ताप्ने गरिएको छ। चिसोले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेकोले उनीहरूको विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन्।
मौसमविद्हरूका अनुसार चिसो अझै केही दिन जारी रहने सम्भावना रहेकोले सर्वसाधारणलाई न्यानो लुगा लगाउन र स्वास्थ्यको ख्याल गर्न चिकित्सकले सुझाएका छन्।