एमालेमा कुनै समूह छैनन् एमाले एकढिक्का छ :एमाले अध्यक्ष ओली

२३ पुष २०८१, मंगलवार २३:०६ प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरु कायम नरहेको दाबी गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु कायम नरहेको बताए ।

उनले भने, ‘एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ । हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ ।

ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालहरु लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट गरे ।

मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र काँग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरु सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरु चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गरे ।

उनले ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गरे ।

प्रधानमन्त्री समेत रहेका ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताए । नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गरे ।

साथै आज सम्म चलेको एमाले केन्द्रिय कमिटीको बैठकले विभाजन भएर गएकाहरुलाई पार्टिमा फर्किन आग्रह गरेको छ । बैठकले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गरेको हो ।

बैठकपछि एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले भने, ‘राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो । यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव छ । यस्तो शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव छ ।’

निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको उनले बताए ।

२३ पुष २०८१, मंगलवार २३:०६  मा प्रकाशित

Write your Comment