कलैया २९ पौष :
बाराको कलैया उपमहानगरपालिकाको १४औं हिउँदे नगर सभा सोमबार सम्पन्न भएको छ। “शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ समुन्नत कलैया नगर, कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार”भन्ने नारासहित सम्पन्न सभामा नगरका विविध पक्षहरूमाथि समीक्षा गर्दै आगामी योजनाहरू तय गरिएको छ।
नगर सभाको उद्घाटन नगर प्रमुख बिनोद साहले गर्दै कलैयाको द्रुत विकासका लागि हरतवरले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले कसैको करकाप वा प्रभावमा नपरी विकास निर्माण कार्यलाई प्राथमिकता दिने बताएका छन्। मानमत–मटिअर्वा सडकखण्डको निर्माण कार्य र हाट बजारको स्वरूप परिवर्तनलाई आफ्नो प्रमुख उद्देश्य बताउँदै नगर प्रमुखले नगर विकासमा सबै मिलेर अगाडी बडनुपर्ने बताए ।
नगर सभामा उपप्रमुख रौशन प्रविनबाट चालु आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रमको अर्धवार्षिक समीक्षा प्रतिबेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले विभिन्न निकायहरूबाट ५६ करोड ४५ लाख ८ हजार १९१ रुपैयाँ आम्दानी गरेको छ।
मंसिर मसान्तसम्म १२ करोड २४ लाख चालूतर्फ र १० करोड १० लाख पूँजीगततर्फ खर्च गरिएको विवरण सार्वजनिक गरियो। संघीय बजेटतर्फ १७ करोड ९१ लाख २५ हजार रुपैयाँ खर्च भइसकेको र अहिलेसम्म कुल पूँजीगत बजेटको करिब ३० प्रतिशत मात्र खर्च भएको जानकारी दिइन। बजेट अभावका कारण धेरै योजनाहरू कार्यान्वयनमा आउन नसकेको कार्यालयको भनाइ छ ।