कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ

५ माघ २०८१, शनिबार २१:४८ प्रकाशित

विराटनगर ५ माघ :
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गा नजिकै आक्रमण भएको हो । आक्रमणबाट उनको निधारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् ।
बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।

निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीले बताएको छ ।
आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेको थियो । तर सुरक्षाको कारण देखाउँदै उनीहरूको नाम सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरूमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने डीएसपी चन्दले बताए ।

५ माघ २०८१, शनिबार २१:४८  मा प्रकाशित

Write your Comment