पर्साको बहुदरमाई नगरपालिकाको सामुदायिक विद्यालयका शिक्षकहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई विद्यालयको साँचो बुझाएका छन् । चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो बुझाएका हुन् ।
सात महिनासम्मको तलब नपाएपछि र पटकपटक माग गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर साँचो बुझाउनु परेको विद्यालयका शिक्षकहरुले बताएका छन् । स्थानीय सरकारले बजेट व्यावस्थापन नगर्दा सम्पूर्ण काम नै ठप्प भएको छ । यसअघि वडा कार्यालयहरु नै बन्द गर्नुपरेको थियो ।
नगर पालिकाको बजेट सञ्चालन नभएर कार्यालयका दैनिक आवश्यक सामग्रीहरु खरिद गर्न समेत पैसा नभएपछि वडा अध्यक्षहरुले नै वडा कार्यालय बन्द गरेका थिए । नेपाल सरकारले अनिवार्य गरेको दिवा खाजाबाट पनि बहुदरमाई नगरपालिकाका बालबालिका बञ्चित भएका छन् ।
दशै, तिहार, छठ, माघे संक्रान्ति लगायतका पर्वहरुमा पनि तलब नपाएपछि अहिले शिक्षक कर्मचारीहरु आर्थिक रुपमा कमजोर बनेर मनोबल पनि कमजोर बनेको शिक्षकहरुले बताए । नगरपालिकाको राजनीतिक दाउपेचले नगरपालिकाको शिक्षा, स्वास्थ्य जस्ता अतिआवश्यक सेवाहरु अवरुद्ध गर्नु उचित नभएको शिक्षकहरुको भनाई छ ।
विद्यालयका शिक्षकहरुको मागलाई सुनुवाई नगरेपछि शिक्षक महासंघले संस्थागत नेतृत्व नै लिएर माघ १ चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । घोषित आन्दोलन अनुसार बुधवार, बिहिवार, शुक्रवार सम्म हाफ टाइमसम्म पढाएर सांकेतिक रुपमा विरोध जनाएका थिए ।
सात महिनासम्म पनि सेवा सुविधा र तलब नपाएपछि धैर्यताको बाँध फुटेपछि विद्यालयको साँचो बुझाउने अवस्थाको सृजना भएको श्री भंगी साह माद्यामिक विद्यालयका प्रधानाध्यापक मनोज श्रीवास्तवले बताए ।
शिक्षकहरुले बुझाएको विद्यालयका साँचो लिएर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय सरकार हुँदाहुँदै यस्तो अवस्था आउनु अत्यन्तै दुखद भएको बताए । बहुदरमाई नगरपालिकामा पटकपटक पहल गर्दा पनि नतिजा नआउँदा अहिलेको अवस्था सृजना भएको उनको भनाई छ ।