बिरगंज २३ माघ :
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले देशमा देखिएको संकट टार्नका लागि कांग्रेस र एमाले मिल्नु परेको बताएका छन् । नेकपा एमाले पर्साले आज आयोजना गरेको वडा केन्द्रीत ३ अभियानको अभिमूखीकरण कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले सरकार ढाल्ने र ढल्ने कारणले मुलुकको बर्वादी रोक्नका लागि कांग्रेस र कम्युनिष्ट मिलेको स्पष्ट पारे ।
पोखरेलले नेपाली कांग्रेससँग नेपालका कम्युनिष्टहरु मिलेर आन्दोलन गर्ने गरेको र निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरेको इतिहास रहेको बताउदै नेपालको राष्ट्रिय राजनीति कांग्रेस र कम्युनिष्ट दुईवटा धु्र्वमा विभाजित रहेको बताए । उनका अनुसार एउटा कांग्रेसले नेतृत्व गरेको र अर्को कम्युनिष्टले नेतृत्व गरेको धु्रबीय राजनीति मात्रै नेपालमा रहेको बताउदै अन्य सानातिना दलहरु हिसाबमै नगनिने बताए ।
यीनै दुईवटा ध्रुवमा ध्रुविकृत नेपालको राष्ट्रिय राजनीतिमा कहिले मिल्ने र प्रतिस्पर्धा गर्ने गरेको प्रष्ट्याए । राणाशासन अन्त्य गर्न, ०१७ सालको पञ्चायत हटाउन, ०४६ को जनआन्दोलन र २०५८ मा ज्ञानेन्द्र शाहको शासन हटाउन पनि कांग्रेस र कम्युनिष्ट मिलेको दृष्टान्त दिदै उनले संविधान जारी गर्ने समयमा पनि कांग्रेस र कम्युनिष्ट मिलेको बताए ।
कांग्रेस र कम्युनिष्ट मिलेका मात्रै नभई प्रतिस्पर्धा पनि गरेकोले मिसन २०८४ मा भने नेकपा एमालेले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताए ।
जिल्ला अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल,सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता,केन्द्रीय कमिटी सदस्यहरू प्रभु हजरा, अरविन्द सिंह निर्मला देवकोटा,मधेस प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डल,उपाध्यक्ष विचारि यादव, सचिव मनोज पौडेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण जिल्ला सचिव महेश दासले गर्नुभएको थियो भने स्वागत मनोज गुप्ताले गर्नुभएको थियो।