प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमाले मिलेर बनेको सरकारको भविष्यलाई लिएर आशंका नगर्न आग्रह गरेका छन् । मुख्य प्रतिस्पर्धी पार्टीहरू असाधारण अवस्थामा मिलेको र ०८४ सम्म सहकार्य गरिराख्ने उनले बताए ।
कर्णाली प्रदेशसभा बैठकलाई शुक्रबार सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रणाली र देश जोगाउन बनेको गठबन्धन नटुट्ने बताएका हुन् । ‘सरकार गइहाल्यो भनेको दिनैपिच्छे सुन्नु भएको होला । दुईवटा पार्टी मिलेर यो सरकार बनेको हो, साधारण अवस्थामा प्रतिस्पर्धी मिल्दैनन् । प्रणाली र देश नै बचाउको लागि यो सरकार बनेको हो’ ओलीले भने ।
देशको रक्षा गर्ने प्रयोजनका लागि वर्तमान गठबन्धन बनेको प्रधानमन्त्री ओलीको दाबी छ ।‘देशको रक्षा गर्ने प्रयोजनका लागि कांग्रेस-एमालेले मिलेर सरकार बनाएका हुन् । गठबन्धनसँग सरकार बनाउने ठाउँ प्रतिनिधिसभामा दुईतिहाइ छ । कांग्रेस र एमाले जहाँ छ, त्यहाँ लगभग दुईतिहाइको बहुमत छ । यसस्थितिबाट तलमाथि हुनेवाला छैन, सानातिना कुरामा हामी अल्मलिदैनौं’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले कांग्रेससँग भएको ७ बुँदे सहमति अनुसार अबको १६ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्त्ररण गर्ने दोहोर्याए । ‘अब १६ महिना मैले चलाउँछु, त्यसपछि शेरबहादुरजीले । त्यो समझदारीको पालना हुन्छ, कार्यान्वयन हुन्छ’, ओलीले भने ।
२०८४ सालमा निर्वाचन गराउने समयसम्म गठबन्धन कायम रहने उनले बताए । ‘तपाईंहरू ढुक्क हुनुहोला, यो सरकार स्थायित्वसहितको सरकार हो । संविधान, प्रणालीको रक्षासहित राम्ररी बुझेर बनेको सरकार हो । जसले स्टण्टबाजी गर्दैन, त्यो सरकार अहिलेको सरकार हो’, ओलीले भने ।