काठमाडौं १० कात्तिक :
नेपालीहरूको दोस्रो महान चाड तिहारको मुख्य र अन्तिम दिन आज भाइटीका लगाइँदैछ ।
भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार यो वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने छ ।
यसो गरेमा वृश्चिक राशीमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने समितिको भनाइ छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्वमा दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र मखमली फुलको माला ग्रहण गर्दछन् । जस अनुसार दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने प्रचलन छ ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । आज दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने मान्यता रहिआएको छ ।