बारा २० कार्तिक :
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्तालाई प्रहरीले आईतवार दिँउसो करिब चार घण्टा नियन्त्रणमा राखेर छोडेको छ ।
फोहोर व्यवस्थापन हुन नसकेका कारण जीतपुर दुर्घन्धित बनेको भन्दै नगर प्रमुख राजन पौडेलसंग छलफल गर्न वडाबासीसहित उपमहानगरपालिकाको कार्यालय पुगेका वडाध्यक्ष गुप्तालाई प्रहरीले दुव्र्यवहार गर्दै नियन्त्रणमा लिएको हो ।
फोहोर व्यवस्थापनको सम्बन्धमा नगर प्रमुख पौडेलसंग छलफल गर्न जीतपुरका स्थानीयसहित वडाध्यक्ष गुप्ता उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । तर नगर प्रमुख पौडेलले छलफल गर्न चासो नदेखाएपछि स्थानीयले उपमहानगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका थिए ।
मुल गेटमा गरिएको तालाबन्दीलाई प्रहरीले भने निर्वाचन अधिकृतको कार्यालयसंग जोडेको थियो । उपमहानगरपालिकाको चौथो तल्लामा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय छ । स्थानीयले मुल गेटमा ताला लगाएपनि प्रहरीले भने निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको आरोपसहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो ।
वडाध्यक्षलाई नियन्त्रणमा लिदा उपहानगरपालिकाको मुल गेटमा लगाइएको ताला भने खुलिसकेको थियो । तालाबन्दी भएको सूचना पाएपछि पुगेका ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले वडाध्यक्षलाई धकेल्दै बाहिर निकालेका थिए ।
जनप्रतिनिधिको गरिमा बिर्सिएका प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले मुल गेटमा लगाएको ताला खुलेपछि वडाध्यक्षमाथी उक्त दुव्र्यहार गरेका हुन् । वडाध्यक्षलाई धकेल्दै बाहिर ल्याउने क्रममा प्रहरी नायब उपरीक्षक तिमिल्सना आक्रोशित देखिन्थे । उनले वडाध्यक्षलाई ‘किन हेरेको, लगेर थुन्दिउ’ भन्दै अभद्र व्यवहार गरेका थिए ।
उपमहानगरपालिकाको कार्यालयबाट बाहिर ल्याए लगत्तै प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले वडाध्यक्षलाई लगेर थुन्न निर्देशन दिएका थिए । उनले ईलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरीक्षक कलामबहादुर शाहीलाई उक्त निर्देशन दिएपछि प्रहरीले वडाध्यक्ष गुप्तालाई सिमरा ल्याएको थियो ।
सिमरा ल्याएलगत्तै वडाध्यक्षलाई थुनुवा कक्षमा राखेको केही समयपछि प्रहरीले बाहिर निकालेका थिए । वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएपछि जीतपुरमा स्थानीयले सडक अवरुद्ध गरेका थिए । जनताको माग राखेर उपमहानगरपालिकाको कार्यालय पुगेका जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफूहरुले विरोध स्वरुप सडक अवरुद्ध गरेको स्थानीय रमेश साह कलवारले बताए ।
स्थानीय विरोधमा उत्रिएपछि घटनालाई साम्य पार्न नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मिया र प्रदेशसभा सदस्य पदका उम्मेदवार देवनारायण चौधरीले भूमिका खेलेका थिए । दुई उम्मेदवार र बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीबीचको छलफलपछि वडाध्यक्ष गुप्तालाई प्रहरी रिहा गरेको थियो । वडाध्यक्ष रिहा भएलगत्तै अवरुद्ध सडक संचालनमा आएको हो ।
रिहा लगतै गुप्ताले भने गठबन्धनको इसारामा प्रहरिले आफू माथी अभद्र ब्याबहार गरेको प्रतिक्रिया दिए उनले भने मेयरले समस्या समाधान पनि गर्न न सक्ने बोल्दा सत्ताको दम्ब देखाएर प्रहरी परिचालन गरेको बताए,उनले भने वडा नम्बर ७ का जनताले नगर कार्यालयमा ताला लगाएको हो निर्वाचन कार्यालयमा होइन ।