काठमाडौ २३ असोज
चिनिया राष्ट्रपतिकाे नेपाल भ्रमणकाे पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पूर्व-प्रधानमन्त्री तथा पूर्व-परराष्ट्रमन्त्रीहरूलगायत सराेकारवालाहरूकाे भेला बाेलाएका छन् ।चिनियाँ राष्ट्रपति सी चिङफिङको शनिबार हुन लागेको नेपाल भ्रमणबारे सुझाव, परामर्श तथा एजेन्डामा छलफलका लागि उक्त भेला बाेलाइएकाे हाे । छलफलमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, राजदूत एवं परराष्ट्र मामिलाका विज्ञहरुसँग सहभागी छन् ।छलफलमा प्रधानमन्त्री ओलीसँगैको पंक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । पूर्व-प्रधानमन्त्रीहरूकाे हैसियतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत छलफलमा सहभागी छन् । यसैगरी पूर्व परराष्टमन्त्रीहरूकाे हैसियतमा नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, सुजाता कोइराला, प्रकाशशरण महत, रमेशनाथ पाण्डे लगायत छलफलमा सहभागी छन् ।राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डाबारे छलफल चलाइएकाे हाे । नेपालमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमणलाई प्रभावकारी बनाउन तथा सो क्रममा हुने सम्झौताका विषयबारे छलफल पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।यो बैठक विगतकै प्रचलनको निरन्तरता हो । कुनै उच्चस्तरीय राजकीय भ्रमणका वेला केकसरी व्यवस्थापन गर्ने र कसरी प्रस्तुत हुने भन्नेबारे धारणा माग्न पूर्वप्रधानमन्त्रीहरूसँग सल्लाह, छलफल गर्ने प्रचलन रहिआएको छ ।