केपि शर्मा ओलि प्रधानमन्त्रीमा नियुक्त,भागबन्डा टुंगियो, कांग्रेस र एमालेलाई कुन कुन मन्त्रालय

३१ असार २०८१, आईतवार १८:१७ प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । कांग्रेस एमालेको दाबी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा यो सहित ओलीको चौथो इन्ट्री हो ।

चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ ।

कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।

यसैबिच सत्ता सझेदार एमाले र कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासलगायतका मन्त्रालय लिनेछ । मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।

३१ असार २०८१, आईतवार १८:१७  मा प्रकाशित

Write your Comment