नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीले जहाँ जिम्मेवारी दिए पनि आफू पूरा गर्न तयार रहेको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमा विगतको भोगाइलाई लेख्दै यस्तो बताउनुभएको हो। उहाँले पार्टीको निर्देशन नै अनुसार बारा क्षेत्र नं २ को उपनिर्वाचनमा होमिएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ।
आफ्नै विगतलाई फर्केर हेर्न मन लाग्यो !
१, राजकाज मुद्दा र जेलको यातना :
२०३३ साल देखी पार्टी सम्पर्कमा थिए । अनेरास्ववियुमा काम गरिरहेको थिए । त्यतीवेला दुई पटक गौरीशंकर मावी निजगढको सभापती र अखिलको सचिव भैसकेको थिए । एसएलसी परिक्षा दिएर रेस्ट गर्दै थिए । वल्ल १६ वर्ष पुगेको जोशिलो लक्का जवान थिए । अनेरास्ववियूको देशव्यापी कार्यक्रम आई हाल्यो । २०३७ चैत्र १४ गते देशव्यापी आम हडताल र नेपालवन्द भयो । अनेरास्ववियु जिल्ला सचिवको नाताले म कोल्हवीको कार्यक्रमको मूख्य वक्ता थिए । त्यहा ठुलो संख्यामा जम्मा भएका जनसमुदायलाई सम्वोधन गरेर मैले नै चित्त वुझाउनु परेको थियो ।
कोल्हवीको भव्य कार्यक्रम र मेरो सम्वोधनलाई प्रशासनले पचाउन सकेन । कार्यक्रम सकिनै वित्तिकै कोल्हवी वजारमा ठुलो मात्रामा प्रहरी परिचालन गरी गिरफ्तारी सहित दमन गरियो । म सहित कार्यक्रमको तैयारी र व्यवस्थापनमा संलग्न ३५/४० जनता साथीहरु गिरफ्तार हुनु भयो । धेरै साथीहरुलाई केही दिनमा रिहा गर्यो । तरपनि म र सुरेन्द्र भण्डारीलाई छाडेन । हामीलाई चर्को यातना दिएर राजकाज अपराध सम्वन्धी मुद्दा लगायो । करिव ८ महिना पछि मात्र रिहा भयौं । त्यस पछि कलेजको राजनितिमा प्रवेश भयो ।
२, अनेरास्ववियूको केन्द्रीय सदस्य:
२०३७ सालसा ठाकुर राम क्याम्पस भर्ना भए । २०३८ मा अनेरास्ववियूको केन्द्रीय सदस्य भए । पार्टीगत रुपले नेपाल मजदुर किसान संगठनमा संगठित थिए तर विद्यार्थी संगठनमा भने अनेरास्ववियूमा काम गरिरहेको थिए । त्यतिवेला विरगंजवाट ३ जना केन्द्रीय सदस्य थियौ । फेरीपनि नारायणी जनकपुरको तल्लो भुगोलको काम ( वारा देखी धनुषा सम्म ) हेर्ने जिम्मा मलाई दिईयो ।
वारा र रौतहटमा अनेरास्ववियूको कमिटी थियो तर वांकी जिल्लाहरुमा थिएन । सवै जिल्लाहरुमा कमिटी गठन गरेर अधिवेशन गराउने काम सम्पन्न भयो । अनेरास्ववियु छैठौको विगविगी भएका जिल्लाहरुमा त्यही वेला अनेरास्ववियूको संरचना खडा गर्नेकाम भएको थियो । वारा , रौतहट, सर्लाही र धनुषा सहितका जिल्लामा अखिल पांचौको संरचना स्थापना भएको हो ।
३, निजगढमा जनपक्षिय प्रधानपंच र पक्राऊ :
२०४० मा अखिल छोडेर पार्टी काममा लागे । ठाकुरराम कलेजमा व्याचलर पढिरहेको थिए । २०४२ सालसा नेकपा मालेको जिल्ला कमिटी सदस्य बनाईए । २०४३ मा स्थानिय चुनाव थियो । निजगढमा मण्डलेहरूको निक्कै विगविगी थियो । पंचायती कालरात्रीमा जनपक्षिय प्रधानपंच भएर काम गर्नु निकै चुनौतीको विषय जियो । त्यसो भएकोले होला त्यहा कोही चुनाव लड्न तयार भएनन् । भरखर २१ वर्षको उमेर पार गर्दै गरेको लक्का जवान भएकोले मलाई अघि सारियो ।
पार्टीको निर्णय मान्दै आएको मान्छे । चुनाव लड्नै पर्ने अवस्था आयो । निजगढमा पढेको विद्यार्थी, दुई पटक स्ववियु सभापती भएकोले विद्यार्थीहरुमा भएको सम्पर्क र लोकप्रीयता अनि अभिभावक संगको सुमघुर सुसम्वन्धले चुनाव जितायो । त्यस पछिका चार वर्ष संघर्ष र द्वन्दमा विते पनि जनताको काम छोडिएन ।
२०४४ सालको कुरा हो । निजगढमा जनपक्षिय भेला आयोजना गर्यौ । देशभरीवाट निर्वाचित जनपक्षिय माननिय सदस्यहरु श्री पद्मरत्न तुलाधर , सोमनाथ प्यासी , द्रोणाचार्य क्षेत्री , जेपी भेटवाल र नोवल केमी राई सहित थुप्रै निर्वाचित जनपक्षिय व्यक्तित्वहरु र उम्मेदवारहरु निजगढ आउनु भएको थियो । कार्यक्रम भव्य हुनेवाला जियो । प्रशासनिक दमनका कारण कार्यक्रम भएन ।
सवै माननियहरु सहित मलाई समेत गिरफ्तार गर्यो । माननियहरुलाई त्यसै दिन छाडिदियो । हामीलाई छाडेन । दोश्रोपटक करिव सात महिना गौर जेलमा वसे । पटक पटक जेलमा वस्दा पनि लोकतंन्त्र र जनसेवाको काम रोकिएन ।
४, प्रजातान्त्रीक राष्ट्रीय एकता मंचको संयोजक :
२०४३ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य थिए । पार्टीले मलाई जनपक्षिय मंचको सचिव वनाएको थियो । लगत्तै २०४५ सालमा प्रजातान्त्रीक राष्ट्रीय एकता मंच गठन भयो । मलाई त्यसको संयोजन गर्ने जिम्मा दिईएको थियो । त्यतीखेर प्ररामंचलाई नै खुल्ला संघर्ष र संयुक्त जनआन्दोलन संयोजन गर्ने जिम्मा पनि दिईएको थियो । संयूक्त जन-आन्दोलनको तयारीको सिलसिलामै माघ २२ गते म निजगढवाट गिरफ्तारीमा परे । मेरो गिरफ्तारी पछि उक्त काम पार्टीको तर्फवाट अरु साथिहरुले अघि वढाउनु भयो । २०४६ चैत्र २६ गते दलमाथीको प्रतिवन्ध हट्यो । प्रजातान्त्रीक प्रणालीको घोषणा भयो । यस संगै हामी जेलवाट रिहा भयौ ।
केही दिन उत्सव मनाएपछि पार्टी जिल्ला कमिटीको वैठक वस्यो । वैठकले जिल्ला कमिटी पुनर्गठन गर्नुका साथै नयां जिम्वेवारी वांडफांट गर्यो । वैठकले मलाई जिल्लाको दक्षिणी भेग सिम्रौनगढ ईलाकामा काम गर्न पठायो । सिम्रौनगढ ईलाका पार्टीको सम्पर्क समेत नभएको ठाउ थियो । मेरो निम्ती यो एउटा नयां चुनौती थियो ।
अनेरास्ववियुको कामको सिलसिलामा घुमेको इलाक़ा भएपनि पार्टीको कुनै सम्पर्क समेत नभएको ईलाकामा काम गर्नु सजिलो थिएन । तर पनि जनपक्षिय प्रधानपंच भएर काम गरेका अनुभव र चिनारी भएको हुदा चिनेका साथिहरुलाई आधार वनाएर मैले आफ्नो काम सुरु गरि हाले । भगवानपुर पटेरवामा काग्रेस आवध्द मेरा मित्र उपेन्द्र जयसवालको घरमा वसेर सम्पर्क वनाउन थाले । त्यही खानपिन गरेर छिमेकी कमरेड महेन्द्र जयसवाल सहितका कमरेडबरुलाई पार्टी संग जोड्ने काम गरे ।
पचरौता ईलाकावाट तत्कालीन जिवीस सदस्य रहेका कमरेड छठु यादवको घरलाई आधार बनाएर काम सुरु गरे । त्यही वसेर उक्त ईलाकामा पार्टी सम्पर्क विस्तार गर्ने काम गरे । अनेरास्ववियुका पूर्व अध्यक्ष कमरेड भरत साहको सहयोगमा वेनौलीका जिम्दार राउत, उनका छोरा जय नारायण राउत, वेलदारीका रामवहादुर यादव, सलेमपुरका गगनदेव कुशवाहा सहित थुप्रै कमरेडहरु लाई पार्टी संग जोड्ने काम गरिएको थियो ।
उक्त ईलाकामा विस्तारै पार्टी वलियो हुदै गएको थियो । त्यसैको जगमा २०४८ र २०५१ को आम निर्वाचन अनी २०५४ को स्थानिय निर्वाचनमा राम्रो परिणाम ल्याएको थियो । सोही ईलाकामा पर्ने पचरौता नगरपालीकामा आज पनि नेकपा एमाले विजयी भएको छ । सिम्रौनगढमा नेकपा एमाले जिउदै छ । उक्त ईलाकामा त्यती वेलाका कमरेडहरु अहिलेपनि सकृय हुनुहुन्छ । पार्टीप्रती प्रतिवध्द भएर नेतृत्वमा वसेर काम गरिरहनु भएको छ । जनताको सेवामा लागी रहनु भएको छ ।
५, २०४८ को चुनाव र ३ नं. क्षेत्रको उम्मेदवार :
२०४६ सालमा देशमा ठुलो परिवर्तन आयो । देशमा प्रजातान्त्रीक संविधान लागु भयो । हाम्रो पार्टी नेकपा माले र नेकपा मार्क्सवादी पार्टी विच एकता भएर नेकपा एमाले वन्यो ।
२०४८ मा आम चुनाव घोषणा भयो । चुनावमा उठाउने उम्मेदवार छनौटको लागी वैठक वस्यो । ३ नम्वर क्षेत्र सवभन्दा कमजोर क्षेत्र थियो । त्यहा कोही चुनाव लड्न तैयार भएनन् । त्यही क्षेत्रमा मलाई पठाईयो । संगठन, सम्पर्क र जनमतका हिसावले निकै कमजोर अनि आफ्नो धरवास पनि नभएको ठाउमा मलाई कडा चुनौती थियो । त्यो चुनौतीलाई स्वीकार गरेर गए ।
संघर्षपूर्ण चुनाव लडियो । साथिहरुको कडा मैहनत, आम जनता र शोषित पिडित तव्काको दृढ समर्थन र सहि चुनावी अभियानको परिणाम हामी केवल ५०० मतले मात्र पराजित भयौ । २०५१ सालमा भएको आम चुनावमा हामी करिव ५००० मतले जित्न सफल भयौ । २०५१ मा कमरेड मनमोहन अधिकारीको नेतृत्वमा ऐतिहासिक कम्युनिष्ट सरकार गठन भयो ।
६, खेलकुद महासंघको अध्यक्ष :
२०६५ सालमा भएको नेकपा एमालेको आठौ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय कमिटीमा पराजित भए । त्यसपछि एक वर्ष खाली नै वस्नु पर्यो । २०६६ सालमा तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाल र महासचिव कमरेड ईश्वर पोख्रेलले मलाई खेलकुद महासंघ गठन गर्ने र त्यसको अध्यक्ष भएर काम गर्ने जिम्वेवारी दिनु भयो ।
मैले यो चुनौतीलाई स्वीकार गरे । सम्वन्धीत क्षेत्र नभए पनि नयां क्षेत्रमा काम गर्ने निर्णय गरे । अध्यक्ष भएको २ वर्ष भित्रमा नेपाल खेलकुद महासंघ नेकोस लोकप्रीय सनगठनको रुपमा स्थापित भयो । ६६ चिल्लामा विस्तारित नेकपा एमालेको तत्कालीन कान्छो जनवर्गिय संगठन नेपाल खेलकुद महासंघको प्रथम राष्ट्रीय महासम्मेलन आयोजना भयो । २०६८ साल वैशाख ११ गते ६६ जिल्लाका प्रतिनिधि सहित महासम्मेलन भव्य रुपले सम्पन्न गरियो । महासम्मेलन ले मेरो नेतृत्वमा नयां र सुदृढ केन्द्रीय कमिटी गठन गर्यो ।
मैले नेपाल खेलकुद महासंघमा ११ वर्ष काम गरे । आज नेकपा एमाले सम्वध्द लोकप्रीय संगठन नेपाल खेलकुद महासंघ सवैको अगाडी छदैछ ।
७, वारा क्षेत्र नंम्वर २ को उम्मेदवार :
२०८० वैशाख २० गते वारा २ नंबर क्षेत्रमा प्रतिनिधि सभाको उपनिर्वाचन हुने भयो । त्याहा पार्टी को तर्फवाट चुनाव लड्ने उम्मेदवार खोजी भयो । मनोनयन पत्र दर्ता गर्ने एकदिन अघि मात्र, १९ गते राति पार्टी अध्यक्षले मलाई चुनाव लड्न भन्नुभयो ।
२ नंबर क्षेत्रमा गठवन्धन तोडेर चुनाव जित्ने अवस्था थिएन । दुई पटक नेकपा एमालेको जमानत जफत भएको क्षेत्र, र पछिल्लो दुईपटकको चुनावमा अरुलाई समर्थन गरेको क्षेत्र भएकोले जोखिमपूर्ण लडाई थियो ।
मलाई त्यहा चुनाव लड्ने चाहाना पनि रहेको थिएन ।
पार्टी अध्यक्षको निर्देशन अनुसार जोखिम उठाईयो । शानदार २० दिनको अभियान संचालन गरियो । दुई पटक पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम् आएर निर्वाचन कार्यक्रमलाई सम्वोधन गर्नु भयो । जनमत हाम्रो षक्षमा भएपनि मत परिणाममा हामी तेश्रो भयौं ।
८, रौतहटमा पार्टी कामको जिम्मा :
२०७८ मा सम्पन्न पार्टी महाधिवेशनवाट दोश्रोपटक केन्द्रीय कमीटीमा निर्वाचित भए । केन्द्रीय कमिटी वैठकले पोलीटव्युरो सदस्यमा चयन गर्यो । केही समय प्रदेश कमिटी सहईन्चार्ज भएर काम गरे । त्यसपछि “मिशन ग्रास रुट” अभियान अन्तर्गत रौतहट जिल्लामा खटे । लगत्तै नेकपा एमाले रौतहट जिल्ला कमिटीको ईन्चार्ज तोकिए ।
रौतहट जिल्लामा पार्टीको कुनै कमिटी थिएन । पार्टीको ठुलो हिस्सा माधव नेपाल संग गएको थियो । बांकि रहेको अर्को हिस्सा प्रभू साहले चिथरेर लागेका थिए । नेकपा एमालेमा कमरेड उध्दव रेग्मी, रेखा झा, अजय गुप्ता , राजकिशोर यादव, सच्चिदानन्द साह, अखिलेश चौधरी, टेकनाथ पौडेल, शिव आचार्य, आरती भण्डारी सहित केही मात्र पुराना र नया कार्यकर्ताहरु वांकि थिए ।
उहाहरुको सल्लाह र सहयोगमा कमरेड सच्चिदानन्द साहको नेतृत्वमा जिल्ला संगठन कमिटी गठन गरि काम सुरु भयो । नया जिल्ला कमिटी र त्यहाका अगुवा कमरेडहरुको नेतृत्वमा सवै पालिकामा पालिका कमिटी गठन गरियो । १३२ वडामा वडा कमिटी गठन गर्न सफलता मिल्यो । पार्टीका १७ वटा जनसंगठनहरुको जिल्ला तदर्थ कमिटी गठन गर्ने काम गरियो ।
यसका साथै पार्टी केन्द्रको योजना अनुसार समयमै पार्टीको जिल्ला अधिवेशन सम्पन्न भयो । कमरेड सच्चिदानन्द साहको नेतृत्वमा ११७ सदस्यीय जिल्ला कमिटी निर्वाचित भयो ।
यसरी रौतहट जिल्लामा पार्टी कामलाई सुन्यवाट सुरु गरेर आजको स्थानमा ल्याउने काम भयो । यस कार्यमा भूमिका खेलने, सहयोग गर्ने र सहानुभूती राख्ने रौतहट जिल्लाका सवै कमरेडहरुलाई धन्यवाद दिन चहान्छु ।
अहिले पार्टीले मलाई युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिएको छ । विभागिय कामको अनुभव नभएपनि अनुभव गरिनेछ । भूगोलको क्षेत्रमा गरिएको कामको अनुभववाट सिकिनेछ । परिणाम दिनेगरी काम गर्ने प्रयास गरिनेछ ।
यि र यस्ता अरुपनि थुप्रै कामहरु भए, हुदै जानेछन । राजनितिक र सामाजिक कामहरु सम्पन्न गर्ने सिलसिलामा धेरै समस्याहरु आए, अझ आउनेछन । चुनौती र जोखिम आए, आउदै जानेछन । देश र जनताको निम्ति भन्दै परवाह गरिएन र अझै गरिदैन । सत्य, न्याय र समानताको निम्ति भनेर आफुलाई पनि वास्ता गरिएन । अवको समय पनि देश र जनताकै निम्ति निस्वार्थ समर्पण गरिनेछ । ” काम गर फलको आस नगर ” भन्ने गिताको सारलाई अनुशरण गरिनेछ ।।।
सवैको जय होस ।
२०८१/४/२४ ।
पुरुषोत्तम पौडेल ।।।