पोखरा २४ पौष :
कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । बुधबार प्रतिवादीकातर्फका अधिवक्ताहरूको बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो ।
स्रेस्तेदार खनालका अनुसार आज बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ । त्यसपछि भोलि बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ । जवाफी बहस सकिएपछि आदेश आउने छ ।
सम्भवत बिहीबारसम्ममा आदेश आउनसक्ने स्रेस्तेदार खनालले बताए । ‘सम्भवत बिहीबार नभए शुक्रबारसम्म आदेश आउनसक्ने देखिन्छ,’ खनालको भनाइ छ ।
आदेश आउने समय नजिकिएसँगै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सूर्यदर्शन सहकारी प्रकरणमा पुस ५ गते र ७ गते पुरक अभियोजन गर्दा १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी भएकोछ ।