हुस्सुका कारण सिमरा विमानस्थलका सबै उडान प्रभावित

२४ पुष २०८१, बुधबार १७:२९ प्रकाशित

सिमरा २४ पौष :

मध्यतराइमा दुई दिनदेखि लागेको हुस्सुका कारण सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएका छन् ।

खराब मौसम र कम भिजिबिलिटीका कारण काठमाडौँका लागि हुने ८ देखि ९ दैनिक उडानहरू आज (बुधवार) पनि सञ्चालन हुन सकेका छैनन् ।

सिमरा विमानस्थलका प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार दुई दिनदेखि मौसमका कारण नियमित उडानहरू प्रभावित भएका हुन्। उनले भने, “मौसमका कारण सबै उडानहरू स्थगित भएका छन्। प्राविधिक कारणभन्दा पनि पुस र माघ महिनामा देखिने मौसम समस्याले यस्तो अवस्था आएको हो ।
विमानस्थल कार्यालयका अनुसार सिमरा–काठमाडौँ उडानको लागि कम्तीमा २,३०० मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर, हाल भिजिबिलिटी निकै कम भएकाले उडानहरू प्रभावित भएका छन्।

सिमरा विमानस्थलबाट बुद्ध एयरले दैनिक ७ उडान र यति एयरले २ उडान भर्दै आएका थिए। तर, हुस्सुका कारण यी सबै उडानहरू रोकिएका छन्।

बारा, पर्सा, रौतहट,सर्लाही, मकवानपुरलगायतका जिल्लाका साथै भारतबाट दैनिक १,१०० देखि १,४०० यात्रुहरू सिमरा–काठमाडौँ आवतजावत गर्ने गर्छन्।

विमानस्थल प्रशासन मौसममा सुधार हुने बित्तिकै उडानहरू पुनः सञ्चालन गर्न तयारी अवस्थामा राखिएको छ। यात्रुहरूले मौसममा आएको असहज परिस्थितिलाई ध्यानमा राख्दै विकल्पहरू खोजेर यात्रा गरिरहेका छन ।

२४ पुष २०८१, बुधबार १७:२९  मा प्रकाशित

Write your Comment