काठमाडौं ६ बैशाख :
नेपाल शिक्षक महासंघका पदाधिकारीले शुक्रबार मध्यराति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
विद्यालय शिक्षा ऐनलाई बटमलाइन बनाएर आन्दोलनमा होमिएका शिक्षकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएका थिए । उनले शिक्षक नेताहरूसँग आन्दोलनका एजेण्डा र समाधानका विकल्पसहित छलफल गरे ।
छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।
महासंघका नेताहरूले प्रधानमन्त्रीसँगको छलफललाई सकारात्मकरूपमा लिएको बताएका छन् ।
७ बजे बालुवाटार छिरेका शिक्षक नेता र प्रधानमन्त्रीबीच राति साढे ९ बजेबाट भेटघाट सुरू भयो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार प्रधानमन्त्रीसँग करिब २ घण्टा मिहीन छलफल भयो ।
प्रधानमन्त्रीले सरकारले माग सम्बोधनबारे आन्तरिक रूपमा सल्लाह गरेर निर्णय लिने साथै ऐन जारीलाई प्राथमिकतामा राख्ने आश्वस्त पारेका छन् ।
‘प्रधानमन्त्रीज्यूले गठबन्धन र संसदका सरोकार पक्षसँग छलफल गर्छु । त्यसपछि फेरि कुरा गरौंला भन्नुभएको छ’, बालुवाटारको छलफल बारे जानकारी दिदै भने ।
आन्दोलनमा आफूहरू यथावत् रहेको भन्दै ऐन टुंग्याउने दिशामा नगएसम्म कक्षा कोठा नफर्किने स्पष्ट अडान आफूहरूले राखेको सुवेदीले दोहोर्याए ।
‘अहिले विधेयक उपसमितिमा छ यसलाई टुंग्याउनेतर्फ जानुपर्छ । हामीसँग अहिले माग भनेकै पहिलेको सहमति कार्यान्वयन हो । तत्काल कुनै लेनदेन गर्ने गरी सहमति गरी हालौं भनेर केही राखेकै छैनौं’, उनले भने ।
प्रधानमन्त्रीबाट राम्रै कुरा आएको भन्दै अध्यक्ष सुवेदीले थपे, ‘हामी पनि ऐन ल्याउनै पक्षमा छौं । के-के कुराले वाधा व्यवधान आए भन्नुभयो । उहाँको ठाउँबाट राम्रै कुरा गर्नुभयो ।’
महासंघका महासचिव तुलाबहादुर थापाले पनि प्रधानमन्त्रीबाट ऐनमा तदारुकता दिने कुरा आएको बताए ।
‘कांग्रेस सभापति शेरबहादुर देउवा, शिक्षामन्त्रीसँग छलफल गरेर आज केही खबर गर्ने भन्नुभएको छ । उहाँहरू सकारात्मक देखिनुभएको छ’, थापाले भने ।
सभामुखसँगको भेटघाटबारे उनले भने, ‘उपसमितिमा विधेयकमाथि सकेसम्म फास्टट्रयाकमा छलफल गर्ने र बढी भन्दा बढी समय दिएर चाँडै टुंग्याउने कुरा गर्नुभएको छ ।’
आन्दोलन परिचालन समितिसहित महासंघको विस्तारित बैठक अहिले बिहान ९ बजेदेखि डाकिएको छ । प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानी बैठकमा सबैलाई जानकारी गराइने महासचिव थापाले बताए ।
२२ बुँदे माग लिएर शिक्षक र विद्यालयका कर्मचारी चैत २० देखि राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
सरकारले विचाराधीन विद्यालय शिक्षा विधेयक यथासक्य पारित गराउने प्रयोजनार्थ भन्दै संघीय संसदको अधिवेशन यही १२ गतेबाट आव्हान गरेको छ ।
मंगलबार साँझको क्याविनेटले महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आव्हान गरेको थियो ।