काठमाडौ ५ माघ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुखको लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साझ बसेको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनु भयो ।
सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान भएको छलफलमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद अग्नि सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो ।
दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको थियो । यसअघि पौष २६ गते बसेको सचिवालय बैठकले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो ।