पत्रकार वीरेन्द्र साहका हत्यारा फौजदार पक्राउ

२५ फाल्गुन २०७६, आईतवार १०:१३ प्रकाशित

बारा २५ फागुन
बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एकजनालाई प्रहरीले आईतबार बिहान पक्राउ गरेको छ ।
बाराको सदरमुकाम कलैया देखि १० किलो मीटर पूर्वमा रहेको बारागढी गाउँपालिका ६ गडहलका कुन्दन भन्ने नरेन्दै कुमार फौज्दारलाई बिहान दुई बजे घरबाट सुतिरहेको अवस्थामा पक्राउ गरेको हो ।
फौजदारलाई पक्राउ गर्ने क्रममा स्थानीयबासीले प्रहरी टोलीमाथी आक्रमणको प्रयास गरेपछि चार राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
आफू एक महिना पहिला बारामा सरुवा भएर आएदेखि नै प्रदेश प्रहरी प्रमुखको निर्देशनमा पत्रकार साहको हत्या आरोप फरार रहेकाहरुलाई पक्राउ गर्न रणनीति बनाएको पंगेनीले बताए । एक महिनाको प्रहरीको सक्रियताले फौज्दारलाई जिल्लाबाट खटेका प्रहरीका टोेलीले कुशल्तापूर्वक नियन्त्रणमा लिन सफल भएको पंगेनीले बताए ।
प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युमन कार्कीले कानूनको पालना गराउनको लागि पत्रकार साहका हत्याका अभियुक्त फौज्दारलाई पक्राउ गरिएको बताए ।
समाजमा अपराधिक क्रियाकलापका अभियुक्तहरु खुल्ला रुपमा घुम्दै रहेमा समाजमा प्रहरी प्रति नकरात्मक सन्देश जाने भएकोले कुनै पनि अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु बाहिर रहनु राम्रो नहुने उनले बताए ।
पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितकाले २०६४ असोज १८ गते बाराको ढोडिया पिपरा बजारबाट अपहरण गरेका थिए । अपहरण गरेका ३४ दिन पछि साहको शव २०६४ कार्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
पत्रकार साहको हत्या अभियोगमा तत्कालिन जनसरकार प्रमुख लालबहादुर चौधरी, हरेराम पटेल फरार रहेका छन भने रामएकबाल सहनी कारारगारमा रहेका छन ।

२५ फाल्गुन २०७६, आईतवार १०:१३  मा प्रकाशित

Write your Comment